क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग निर्देशित गर्दैआएको बताउनुभएको छ ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा आज साँझ श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा सम्बोधन गर्दै उहाँले भन्नुभयो – “बौद्ध दर्शनको गौरवमय इतिहास र उपलब्धि हाम्रो आस्था, संस्कृति, जनजीविका र जीवनप्रतिको दृष्टिकोणसँग अभिन्न रूपमा गाँसिएका छन् ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त तथा न्यायपूर्ण विश्व व्यवस्थाको सिर्जना बुद्धको उपदेशका शाश्वत् सन्देशको पालनाप्रति हुने हाम्रो आस्थाको नवीकरण र समर्पणमा निर्भर गर्दछ भन्दै बुद्घ संसारकै ज्योति हुन् र संसारलाई हामी तथा भावी पुस्ताका निमित्त अनुपम आश्रयस्थलमा रुपान्तरण गर्न सो ज्योति मार्गदर्शक बन्ने हाम्रो विश्वास छ भन्नुभयो ।
“कुनै पनि समाजमा शान्ति, स्थायित्व र प्रगतिको आधार सामाजिक न्याय हो, समाजका प्रत्येक वर्ग र समुदाय समान अधिकारका हकदार भएमा सामाजिक न्याय सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो – “भेदभावको उन्मूलन, न्यायोचित सहभागिता र आर्थिक समृद्धिको प्राथमिकताका साथै गरिबी र पछौटेपन निवारण गर्नेतर्फ शासनव्यवस्था लक्षित हुनुपर्दछ ।”
राष्ट्रपति भण्डारीले हामीले विश्वमा असहिष्णुतामा आधारित विभिन्न प्रकारका अतिवाद र कट्टरवाद भोगिरहेका छौँ, धार्मिक, जातिगत र सभ्यतागत आधारमा विभाजन गर्न कोसिस भइरहेका छन् भन्दै स्थापित व्यवस्थाउपर गम्भीर चुनौती सिर्जना गर्न गैरराज्य तत्वहरू समेत उद्यत देखिन्छन्, यस्ता तत्वले हिंसा र अन्य विकल्पद्वारा अस्थिरता र अराजकता पैदा गरी सामाजिक बनावटलाई खल्बल्याउँदै विश्वशान्ति र समृद्धिउपर अवरोध पुरयाउँदै आएको बताउनुभयो ।
जुनसुकै आवरणमा भएपनि सामाजिक सद्भाव बिथोल्ने, मानवतामा विभाजन ल्याउने र सङ्कीर्णता, कट्टरता र घृणा फैलाउने मान्यताहरु आजको विश्वमा स्वीकार्य हुन सक्दैनन्, उहाँले भन्नुभयो – “धार्मिक सहिष्णुताको लामो इतिहास बोकेको मुलुक नेपाल विश्वमा चिरस्थायी शान्ति प्राप्तिका लागि अन्तरधार्मिक एवम् अन्तरसांस्कृतिक संवाद, समझदारी र सहयोगको आवश्यकताको पक्षमा छ ।”
राष्ट्रपति भण्डारीले दिगो शान्ति स्थापना तथा संस्थागत गर्नका लागि सबै मुलुकले सामञ्जस्यपूर्ण तवरले विभिन्न सभ्यताबीच सद्भाव, आपसी सम्मान, शान्तिको संस्कृति र अहिंसा प्रवद्र्धन गर्ने आफ्नो दायित्व दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै सांस्कृतिक, भाषिक, जातीय वा धार्मिक विविधता कुनै पनि समाजका लागि बोझ होइन, सम्पदा र गौरवको विषय बन्नुपर्दछ भन्नुभयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र आफ्नो पुरानो इतिहासका दौरान लामो सामुद्रिक मार्गमार्फत विभिन्न सभ्यतासँग अन्तक्र्रिया गर्ने हिन्द महासागरको विलक्षण मोतीसमान रहेको श्रीलङ्काका बीच शताब्दीऔँदेखि सुमधुर सम्बन्ध रहिआएको छ भन्दै उहाँले यातायात र सञ्चार सञ्जालको विस्तारमार्फत यस सम्बन्धलाई थप सुदृढ तुल्याउनु आवश्यक छ भन्नुभयो ।
राष्ट्रपति भण्डारीले मित्रता र सहयोगको हाम्रो द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित रहेको उल्लेख गर्दै साठी वर्ष अघिमात्र औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरिएपनि हाम्रो सम्बन्ध शताब्दीयौँदेखि अक्षुण्ण रहेको छ, नेपालका विलक्षण विभूति गौतम बुद्धको दर्शन र सन्देशहरु हाम्रा दुई मुलुक र जनताका बीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेका छन् भन्नुभयो ।
हालका वर्षमा उच्चस्तरीय भ्रमणको आदानप्रदान, विभिन्न क्षेत्रमा सहयोग र सार्क तथा बिमस्टेकजस्ता क्षेत्रीय मञ्चहरुमा दुवै मुलुकको सक्रिय सहभागिताले द्विपक्षीय सम्बन्ध मजबुत पार्न सघाएको बताउँदै उहाँले भन्नुभयो, “मैले भर्खरै श्रीलङ्काको दालडा मालिगावाको भ्रमण गरेँ, बुद्धद्वारा प्रतिपादित विश्वशान्ति, स्थायित्व र समृद्धिको प्रवद्र्धनमा समर्पित हाम्रा जनताका लागि बुद्धको पवित्र दन्त अवशेष रहेको यो मन्दिरका कारणले क्यान्डीले नेपालसँग आत्मीय सम्बन्ध राख्दछ ।”
राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाल र श्रीलङ्का दुवैले हिंसात्मक द्वन्द्वको पीडादायी कालखण्ड र जनधनको ठूलो क्षतिपछि प्राप्त गरेको अमूल्य शिक्षा हो – शस्त्रबलभन्दा जनताको अभिमत शक्तिशाली हुन्छ । यो कुरा विश्वको राजनीतिक इतिहासबाट राम्रोसँग सावित भइसकेको छ । विगतमा श्रीलङ्काले भोगेसरह लामो हिंसात्मक द्वन्द्व, अस्थिरता र सङ्क्रमणकाल चिर्दै नेपालले जननिर्वाचित संविधानसभाको माध्यमबाट असोज २०७२ मा संविधान प्राप्त गरेको छ ।”
नयाँ संविधानको प्रावधान मुताविक हाम्रो मुलुकमा आजकै दिन उत्साहवर्धक सहभागिताका साथ स्थानीय तहको निर्वाचनको मतदान प्रक्रियामा नेपाली जनता लामबद्ध भएको कुरा सुनाउन पाउँदा खुसी लागेको पनि राष्ट्रपति भण्डारीले बताउनुभयो ।
कार्यक्रममा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुद्धका उपदेश र सन्देश परमसुख र शान्तितर्फ उन्मुख जीवनपद्धतिका द्योतक हुन् भन्दै बुद्धका उपदेशहरुको आत्मसात र निष्ठापूर्ण पालना मानवमात्रका लागि शान्तिपूर्ण विश्व स्थापना गर्न अधिक महत्वपूर्ण भएको बताउनुभयो ।
हाम्रा मूलभूत मानवीय मूल्य र साझा नियतिका दर्शनका रुपमा बौद्ध धर्मलाई हेर्नुपर्नेमा जोड दिँदै उहाँले समस्त मानवलाई एकताबद्ध गर्न शान्ति, अहिंसा, करुणा, सद्भाव र क्षमाको महत्व पहिलेभन्दा आज बढी रहेको छ भन्नुभयो ।
श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो तीनदिने सम्मेलनको समापन श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा भएको छ । गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण मनाउन वैशाख दिवस आयोजना गरिन्छ । बुद्धका उपदेशको निरन्तर बढ्दो महत्वको मान्यतास्वरुप संयुक्त राष्ट्रसङ्घले सन् २००० देखि प्रत्येक वर्ष वैशाख दिवस मनाउँदै आएको छ ।
सामाजिक न्याय तथा दिगो विश्व शान्तिका लागि बुद्धको सन्देश भन्ने मूल नारासहित सुरु भएको सो सम्मेलनमा श्रीलङ्कासहित विश्वका ८५ मुलुकका ७५० बौद्ध धर्मावलम्बीको सहभागिता रहेको थियो । प्रमुखरुपमा बुद्ध धर्मको परिपे्रक्ष्यमा सामाजिक तथा प्राकृतिक न्याय, मानवताको रक्षाका लागि अन्तरधार्मिक साझा सहमति, आर्थिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धनका लागि बुद्धिष्ट फोरम र अन्तर्राष्ट्रिय बुद्धिष्ट मिडिया सञ्जाल शीर्षकमा सो सम्मेलन केन्द्रित थियो ।
राष्ट्रपति भण्डारी सम्मेलनस्थलमा पुग्दा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालगायत त्यहाँका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, बौद्ध धर्मका अनुयायी र स्थानीयले भव्य स्वागत गरेका थिए ।