काठमाडौँ, १४ जेठ । प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा)बीच आज भएको बैठक सहमतिका लागि थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ ।
संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा राजपाका नेताहरुले आफ्नो मुख्य चासो प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकामा जोड दिँदै संविधान संशोधन विधेयक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गर्नुभएको थियो ।
छलफलमा प्रमुख प्रतिपक्षी दलनेकपा(एमाले)का नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो । अनौपचारिक छलफलपछि छिट्टै चार दलको बैठक बसेर सहमतिका लागि प्रयास गरिने सल्लाहकार खनालले बताउनुभयो ।
बैठकपछि राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रमुख तीन दलले निर्वाचनपछि संविधान संसोधन गर्न आफूहरु तयार रहेको भन्दै अहिले निर्वाचनमा आउन आग्रह गरेको बताउनुभयो । माग सम्बोधन नभएसम्म निर्वाचनमा आउन नसक्ने जवाफ आफूहरुले दिएको र थप छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको उहाँले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्त ठाकुरलगायतका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।