लन्डनस्थित नेपाली दूतावासमा फरक ढंगले मनाइयो गणतन्त्र दिवस

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा सोमबार एक फरक कार्यक्रमबीच दशौं गणतन्त्र दिवस मनाइएको छ ।

कार्यक्रमको प्रारम्भमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सन्देश सुनाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी थिइन् । साथै उनले सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रुपमा मात्र नभइ जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी रहेको पनि बताएकी थिइन् ।

त्यसैगरि, प्रधानमन्त्री दाहालले सन्देशमा जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै यसैवर्ष २०७४ माघ ७ गतेसम्म सम्पन्न हुने संघीय संसद् र प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयनले पूर्णता पाउने र संक्रमणकाल अन्त्य हुने विश्वास 
व्यक्त गरेका थिए ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउंदै आएको छ ।

कार्यक्रममा राजदूत डा. सुवेदीले नेपालमा गणतन्त्रको अभ्युदय र नागरिक हक अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने प्रातः स्मरणीय शहीदहरुमा श्रद्धान्जली अर्पण गर्दै गणतन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे ।

समारोहको दोश्रो चरणमा बेलायतमा शिक्षा, व्यापार व्यवसाय, कला, संगीत, पर्यटन, चिकित्सा, इन्जिनियरिङ र पत्रकारिता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका १२ जना सफल युवाहरुले आ आफ्नो सफलताको कथा र प्रेरणादायी मन्तव्य दिएका थिए । ति वक्ताहरुमा ब्लाइन्ड रक्सकी श्रृष्टि केसी, नर्स प्रसुना कंडेल, पत्रकार भगिरथ योगी, इन्जिनियर राजकुमार त्रिपाठी, दन्त चिकित्सक डा. कपिल रिजाल, व्यवसासीहरु बिराज भट्ट, ओजेश सिंह, नायक ध्रुव दत्त, विद्यार्थी अभियन्ता प्रणय शाक्य, अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका गोर्खा हरिबहादुर बुढामगर र मिस यूके नेपाल २०१६ टेनिसा राना थिए ।

यसपटक दूतावासले युवाहरुलाई विशेष प्लेटफार्म दिंदै गणतन्त्र दिवस मनाउने नयां शैली अपनाएको हो । ‘युवा पुस्तालाई अघि बढाउन दूतावास ढोका खोल्दैछ’, राजदूत डा. सुवेदीले भने ।

उक्त अवसरमा राजदूत डा. सुवेदीले दूतावासको नयां परिमार्जित वेवसाइटसहित तथ्यांक राख्ने अनलाइन रजिष्ट्रेशन प्रणालीको उद्घाटन गरे । उक्त वेवसाइटबाट बेलायत, माल्टा र आयरल्याण्ड बस्ने नेपाली एवं संघसंस्थाको तथ्यांक संकलन 
गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममै समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले व्यक्तिगत विवरण र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ एवं नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार नवीन पोखरेलले संस्थागत विवरण भरेर यसको शुरुवात गरेका थिए । साथै कार्यक्रममा राजदूत डा. सुवेदीले रोबर्ट फेर्गुसनद्वारा लिखित नेपाल सम्वन्धि हयाण्ड बुक ‘नेपाल’ विमोचन गरे । नेपालबारे चासो र भ्रमण 
गर्ने विदेशीलाई उपयोगी हुने उक्त पुस्तक बेलायतको प्रसिद्ध प्रकाशन संस्था फुट प्रिन्टले प्रकाशन गरेको हो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रमको अन्तिम खण्डमा नेपालबाट आएकी गायिका तथा नायिका विष्णु चेम्जोङ र चोक गुरुङले गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतको विदेश मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालयका पदाधिकारी साथै नेपाली र बेलायती संघसंस्थाका करिब तीनसय प्रतिनिधि सहभागी थिए ।

‘गोर्खा कपमा राजदूतको अपमान’
यसैबीच, राजदूत डा. सुवेदीले आइतबार सम्पन्न ‘गोर्खा कप’ मा आफ्नो अपमान भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेपालीको सबैभन्दा ठूलो इभेन्ट मानिने गोर्खा कपमा राजदूतलाई मुख्य अतिथी बनाएर रसमोर मेयरलाई प्रमुख अतिथी बनाइएको थियो । कार्यक्रममा राजदूतले भने, ‘राजदूतको आफ्नै मर्यादा, उचाईं, सिमा हुन्छ । म सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालको प्रतिनिधित्व गर्ने असाधारण राजदूतलाई वडा अध्यक्ष भन्दा तल नराख्नुस् । बरु हामीलाई नबोलाउनुस् ।’

राजदूत सुवेदीले बेलायतमा रहेका १६५ वटा राजदूतकै सरह आफ्नो हैसियत भएको उल्लेख गर्दैै ‘प्रोटोकल’ ख्याल गर्न आयोजकलाई चेतावनी दिए । ‘विदेशीको माझमा नेपालको टोपी लगाएको राजदूतको शीर नझुकाउनुस्, मेरो शीर झुक्नु भनेको समस्त नेपालीको शीर झुक्नु हो’, उनले भने, ‘राजदूतको अपमान गरेर अन्य नेपालीको सम्मान हुन्न ।’

तस्विरः राजन अधिकारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री