लन्डन, २५ जेठ । बेलायतमा बिहीबार आमनिर्वाचन शुरु भएको छ । प्राप्त समाचारअनुसार देशैभरि मतदान भइरहेको छ । सुरक्षा व्यवस्था निकै नै कडा पारिएको पनि समाचारमा उल्लेख छ । यसपटक निर्वाचनका लागि चार करोड ६९ लाख मतदाताले नाम दर्ता गराएका छन् । बेलायतको संसदीय निर्वाचनमा पहिलोपटक नेपाली मुलका डा. बच्चु कैलाश कैनी पनि लेबोरका तर्फबाट डार्टफोर्ड क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका छन् । यस निर्वाचनले ६५० सांसद चुन्नेछ ।
केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।
निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनबीच प्रतिश्पर्धा हुने देखिएको छ ।
यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ ।
बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ ।
शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घटेको छ । त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ ।