लण्डन- २७ जेठ । बेलायतका प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टीले बिहीबार भएको मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा ल्याएपछि उहाँका दुईजना निकट सहयोगीले पदबाट राजीनामा दिएको शनिबार घोषणा गरेका छन् ।
शुक्रबार सार्वजनिक मतपरिणाम कन्जरभेटिभ पार्टीको अपेक्षा विपरीत आएको छ । थेरेसा मेलाई सन् २०१५ मा संसद्मा बहुमत प्राप्त भएको थियो तर मध्यावधि निर्वाचनमा भने संसदमा बहुमत प्राप्त गर्न नसकेको बिषयले सर्वत्र चर्चा पाइरहेका वेला उहाँहरूको राजिनामा आएको हो ।
प्रधानमन्त्रीले बेलायती जनता आफ्नो पक्षमा रहेको पुष्टि गर्दै युरोपियन युनियनबाट बहिर्गमन प्रक्र्रियामा बल पुरयाउने उद्देश्यसहित घोषणा भएको निर्वाचनमा अनपेक्षित नतिजा आएपछि सत्ताधारी कन्जरभेटिभ पार्टीका निक टिमोटी र फिअना हिलको राजीनामा आएको हो ।
टिमोटी र हिलले मे बेलायतको गृहमन्त्री रहँदादेखि नौ निकट सहयोगीका रुपमा सल्लाह दिँदै आउनुभएको थियो ।
टिमोटीले ‘कन्जरभेटिभ होम’ वेबसाइटमा निर्वाचनमा निराशाजनक नतिजा आउनु थेरेसा मे र पार्टीप्रति सहयोग नरहेको भन्ने होइन तर लेबर पार्टीमा अनपेक्षित रुपमा देखिएको लहर भएको प्रतिक्रिया दिनुभएको छ ।
टिमोटी र हिलमाथि कन्जरभेटिभ पार्टीकै कतिपय नेताले डाउनिङ स्ट्रिटमा अस्वस्थ वातावरणलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
मेका पूर्व सञ्चार निर्देशक केइटी पेरिअरले प्रधानमन्त्रीका निकट रहँदै आएका नेताद्वयले पार्टी र सरकारकाबीच अस्वाभाविक वातावरण सिर्जना गरेको दाबी गर्नुभएको थियो । तर पेरिअरले निर्वाचनपूर्व नै पदबाट राजीनामा दिनुभएको थियो ।