प्रधानमन्त्री शेरबहादुर देउवालाई आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित समारोहमा आदिकविद्वारा लिखित रामायण प्रदान गरिदैँ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उहाँले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताउनुभयो ।
समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
कार्यक्रम शुरु हुनुअघि रानीपोखरीबाट भानुको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो ।
भानुले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड
दमौली, २९ असार । आदिकवि भानुभक्त आचार्यले देखाएको बाटालाई अवलम्बन गर्नुपर्नेमा यहाँ जोड दिइएको छ ।
२०४ औं भानुजयन्तीका अवसरमा भानु घाँसी स्मारक पार्क संरक्षण समितिद्वारा आज घाँसीकुवामा आयोजित प्रवचन कार्यक्रमका वक्ताले अहिलेको अवस्थामा भानुले देखाएको बाटो अवलम्वन गर्न सके मुलुक नै माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भानुको बाटो अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष तीर्थराज भट्टराई, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेकपा(एमाले)का नेता एकबहादुर राना, पूर्वसभासद् उर्मिला थापा, व्यासका अध्येता काशीनाथ न्यौपानेलगायतले भानुभक्तको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
इटहरी– यसै अवसरमा आज इटहरी साहित्यक समूहले प्रतिनिधिमूलक छन्दोबद्ध कविता गोष्ठीसँगै साहित्यिक स्रष्टा सम्मान कार्यक्रम गरेको छ ।
समारोहमा छन्दोबद्ध कवितामा लामो समयदेखि क्रियाशील रोहिणी पराई घिमिरेलाई रु १० हजार एक राशिसहित सम्मान गरिएको छ ।
सो अवसरमा प्रा डा वद्रीविशाल पोखरेलले भानुले संस्कृत भाषामा लिखित ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरेर नेपालीलाई ‘रामायण’ पठनमा सहजता प्रदान गर्नुभएकाले उहाँप्रति हामी नेपालीले जहिल्यै सम्मानभाव प्रकट गर्नुपरेको हो भन्नुभयो । उहाँले अहिले नेपाली भाषामाथि चौतर्फी आक्रमण भइरहेकाले त्यसतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
इटहरी उपमहानगरपालिकाकाप्रमुख द्वारिकालाल चौधरीले सभ्य समाज वा शहर बन्नका लागि साहित्यको आवश्यकता छ भन्नुभयो । कार्यक्रममा समूहका अध्यक्ष कृष्णविनोद लम्साल, प्रा मोहत तुम्बापो, बालकृष्ण सिग्देल, पुण्यप्रसाद न्यौपाने, जीवनाथ नेपाल, कृष्णप्रसाद नेपाल, चन्द्रावती पौडेललगायतले कविता, गजल र हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनुभएको थियो ।