चेङ्डु (चीन), २५ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्तीमा १९ जनाको मृत्यु भएको र अरु २४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ ।
पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अधिकारीहरुले बुधबार बताएका छन् ।
स्थानीय समयानुसार मङ्गलबार साँझ ९ः१९ बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ ।
गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।
यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९ः३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् ।
घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ ।
घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
चिनियाँ नेताहरुले पुरिएकाहरुलाई बाहिर निकाल्न र उद्धार तथा राहतमा लाग्न सवैलाई आह्वान गरेका छन् ।
स्थलमार्ग तथा हवाई मार्ग मार्फत् सेनाले उद्धार कार्य जारी राखेको प्रान्तीय सरकारले जनाएको छ ।
सरकारी अधिकारीहरुका अनुसार १२ सय ८५ जना सैनिक, ९० ओटा सवारी साधन र ९ ओटा विमान उद्धार तथा राहतका लागि खटिएका छन् ।
घाइते भएर अस्पताल लगिएका मध्ये केही सामान्य घाइतेहरु प्राथमिक उपचार पछि आफ्नो घर फर्किएका छन् । उद्धारकर्ताहरुले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन् ।