नयाँ दिल्ली, ७ भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ ।
अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति तथा सद्भावनालाई दर्शाएको छ ।’
नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा गरिएको स्वागत समारोहपछि आज साँझ दुई प्रधानमन्त्रीबीच भारतीय प्रधानमन्त्रीको निवास रेशकोर्स रोडमा सो भेटवार्ता भएको हो ।
उहाँहरुबीच भोलि बिहीबार नयाँ दिल्लीको हैदरावाद भवनमा औपचारिक भेट र द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । त्यसलगत्तै संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम छ ।
भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।
देउवाको दूतावासमा विशेष स्वागत
नयाँदिल्ली, ७ भदौ । प्रधानमन्त्री देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गर्नुभएको छ ।
भारतको राजकीय भ्रमणका लागि बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपाली विद्यार्थी उच्च शिक्षा र ज्ञान आर्जन गरेपछि नेपाल फर्किनुस्, देशलाई तपाईहरूको सेवा र ज्ञान आवश्यक छ ।’ देउवालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासमा राजदूत दीपकुमार उपाध्यायसहित कर्मचारी तथा त्यहाँ उपस्थित ठूलो संख्याका नेपालीहरूले विशेष स्वागत गरेका थिए ।
त्यहाँ उपस्थित नेपाली समुदायका नागरिकको भेलालाई सम्बोधन गर्दै उहाँले भारत वा संसारको कुनै पनि कुनामा रहेका नेपालीहरूलाई आफ्नो देशको प्रतिष्ठालाई माथि उठाउने गरी र आफ्नो मातृभूमिप्रतिको कर्तव्य बोध गरेर आ आफ्ना पेसा र व्यवसाय गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाल भारतबीच सदियौँदेखि असल सम्बन्ध रही आएको स्मरण गर्दै यस सम्बन्धलाई थप सुमधुर र विकसित गर्न भारतमा रहेका प्रवासी नेपालीले अवैतनिक दूतका रुपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनस्तरमा दुई देशको सम्बन्ध विकासका लागि तपाईहरूको भूमिका अहम हुन्छ, सकारात्मक भूमिका निर्वाह गर्नुहोला ।’
प्रधानमन्त्री देउवाले नेपालमा अब नयाँ संविधान लागू भएसँगै राजनीतिक स्थायित्वको वातावरण बनेको र लगानीका थुप्रै सम्भावना पनि खुलिसकेकाले नेपालमा लगानीका लागि पनि भारतमा रहेका नेपाली समुदाय एवम् भारतीय उद्योगपति व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा भारतमा रहेका विभिन्न प्रवासी संघ, संगठनहरूले भारतमा रहँदा, विभिन्न पेसा व्यवसाय सञ्चालन गर्दा, अध्ययन अध्यापन गर्दा उत्पन्न समस्याका साथै समय समयमा नेपाल जाने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि ज्यादति गर्ने गरेको भन्दै ती समस्याको समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रवासी नेपाली संस्थाहरूले नेपालमा २०४६ साल होस या दोस्रो जनआन्दोलनका समयमा पनि नेपालमा प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्दै उनीहरूको समस्याप्रति गम्भीर भएर नेपाल सरकारले भारतसमक्ष कुरा उठाउन आग्रह गरेका थिए ।
उनीहरूले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था रहेको, भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या रहेकाले समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल गरिदिनुपर्नेमा जोड दिएका थिए ।
नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता समाजलगायतले ती समस्याबारे अवगत गराएका थिए । प्रधानमन्त्री देउवाले आजै साँझ नयाँ दिल्लीको होटल ताजमा भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजना हुने उद्योगी, व्यवसायीहरूको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
विभिन्न सम्झौताका लागि तयारी हुंदैछ – उपप्रम महरा
यसैबीच दूताबासमै सम्वाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयसँग सम्बन्धित लागू औषधको अवैध ओसार पसार र दुरुपयोग नियन्त्रणसम्बन्धी सम्झौता हुने बताउनुभयो ।
यसअन्तर्गत सचेतना अभिवृद्धि, समुदायमा आधारित शिक्षा कार्यक्रम र उपचार तथा पुनःस्थापना जस्ता क्षेत्रमा काम गरिनेछ । लागू औषधको दुरुपयोग नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बारेमा सो सम्झौता गरिने छ ।
त्यसैगरी उद्योेगसम्बन्धी गुणस्तर निर्धारणका कार्यक्रममा पनि दुई देशबीचमा सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो । दुवै देशका उत्पादनहरूलाई गुणस्तर चिह्न प्राप्त गर्ने र तिनको प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ ।
त्यसैगरी नेपालमा भूकम्प पीडितलाई भारत सरकारले दिने पुनर्निर्माणको सहयोगको प्याकेज तथा त्यसमा सम्पदा निर्माण, शिक्षा, प्राविधिक सहयोग, परामर्शदाता सहयोग, स्वास्थ्य लगायतका क्षेत्रको सहयोगमा पनि सहमति हुनेछ ।
मन्त्री महराले कतिपय सम्झौताका विषयहरू छलफलमै रहेका र आज या भोलिबिहानसम्ममा छलफल गरेर टुंगो लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
पुराना सम्झौतालाई कार्यान्वयनमा जोड दिन्छौँ- राजदूत उपाध्याय
यसैगरी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने बताउनुभयो । उहाँले नयाँ सहमति र सम्झौताका लागि पनि छलफल जारी रहेको जानकारी गराउनुभयो ।