काठमाडौँ, १ भदौ (रासस) – नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारी र उम्मेदवारको मापदण्डबारे छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उम्मेदवार छनोटको मापदण्डबारे व्यापक छलफल भएपनि सोमबारको बैठकले टुंगो लगाउने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नाम कसरी टुङ्ग्याउने भन्नेबारे नेताहरुबीच गहन छलफल भएको छ ।
असोज १५ भित्र उम्मेदवारको सूची केन्द्रमा आउने गरी पार्टीको स्थानीय तहबाट उम्मेदवारहरुको सिफारिस माग गर्ने बैठकले निष्कर्ष निकालेको बुझिएको छ । गाउँ, नगर कार्यसमितिको सुझावका आधारमा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका उम्मेदवारलाई जिल्ला कार्यसमितिले रायसहित केन्द्रमा पठाउने प्रचलन छ ।
निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको सिफारिस गर्ने निकायका सम्बन्धमा भोलि टुंगो लगाइने काँग्रेसले जनाएको छ ।
यसैबीच, काँग्रेसले नेता महेश आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । आजको बैठकले समिति गठनलगायत गरेको निर्णय भोलि सार्वजनिक गरिने मुख्यसचिव पौडेलले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायतको उपस्थिति थियो ।