लस एन्जेलस, १६ असोज (रासस-सिन्ह्वा) – अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगीतिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा ५९ जनाको ज्यान गएको छ भने कम्तीमा ५०० जना घाइते भएका छन् ।
लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । सो होटलको ३२ औँ तल्लामा उक्त कन्सर्ट चलेको थियो । सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आमहत्या गरेको प्रहरीले जनाएको छ ।
गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो ।
प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।
साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ ।