काठमाडौँ, २५ असोज (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठबन्धन भएको बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भन्नुभयो, ‘सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।’
भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताउनुभयो । ‘वाम गठबन्धन देशभित्र भएकाको मात्र हो’– नेपालले भन्नुभयो ।
वामपन्थी ध्रुवीकरणबाट अतालिनुपर्ने अवस्था छैन – रक्षामन्त्री प्रधान
धुलिखेल, असोज २५ (रासस) – रक्षामन्त्री भीमसेनदास प्रधानले वामपन्थी ध्रुवीकरणबाट अतालिनुपर्ने अवस्था नरहको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले काँग्रेस राणा शासनको विरुद्धमा समेत लड्दै आएको पार्टी भएकाले वामपन्थी एकताले कुनै असर नगर्ने बताउनुभयो ।
रक्षामन्त्री प्रधानले वाम एकता दुई तिहाइ मत ल्याएर सत्ता हातमा लिई साम्यवाद लाद्ने रणनीति भएको उल्लेख गर्नुभयो ।
वाम एकता नाम मात्र भएको र उनीहरु विभिन्न शक्ति तथा विचारबाट सञ्चालित भएको उहाँको आरोप थियो ।
सो अवसरमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले बन्दुकको नालबाट सत्ता कब्जा गर्न नसकेपछि निर्वाचनबाट सत्ता कब्जा गर्ने रणनीतिमा वामपन्थीहरु लागेको आरोप लगाउनुभयो ।
प्रेस युनियन अध्यक्ष बद्री सिग्देलले गुट उपगुटमा नलागी एक ढिक्का भएर निर्वाचनमा गए काँग्रेसको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा वर्तमान राजनीतिक अवस्थाबारे पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।