काठमाडौँ, ३० असोज – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान सुरु भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको मतदानमा गैर आवासीय नेपालीले मतदान गरिरहेका छन् । एनआरएनए निर्वाचन समितिले एक हजार ८५४ जना मतदाता रहेको जानकारी दिएको छ । विद्युतीय मतदान भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना छ ।
एनआरएनएको अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०.३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।
एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराउनुभयो ।
वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहनुभएकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्नुहुन्छ । अध्यक्षका दाबेदार रहनुभएका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराउनुभएन ।
उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त र रविना थापाले उम्मेदवारी दिनुभएको छ । महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सह-कोषाध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिनुभएको छ ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक-एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।