नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउँदै । तस्बिर – टीका खतिवडा, इलाम, रासस
काठमाडौँ, १६ कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुहुने भएको छ ।
पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ ।
पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसक्नु भएको हो ।
गठबन्धन राजनीतिक स्थिरताका लागि – दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा चितवन–३ बाट मनोनयन दर्ता गर्दै । तस्वीर – नारायण अधिकारी, चितवन, रासस
चितवन, १६ कात्तिक (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ ।
चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताउनुभयो ।
यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उहाँले बताउनुभयो । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उहाँको भनाइ थियो ।
देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।’
यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उहाँले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताउनुभयो ।
सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिनुभएको हो । उहाँको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहनुभएको छ ।
चितवनको सम्पन्नता दुईभाइको काँधमा – पाण्डे
वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उहाँले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताउनुभयो ।
वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो ।
त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उपप्रधानमन्त्री थापाको उम्मेदवारी
हेटौँडा, १६ कात्तिक (रासस) – उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा दर्ता गराउनुभएको छ ।
उहाँले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा काँग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पार्नुभयो ।
उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट एक रयालीका साथ मुख्य निर्वाचनको कार्यालयमा आइपुग्नुभएको थियो ।
नेता सिटौलाको मनोनयन दर्ता
नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आगामी मंसिर २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा–३ मा मनोनयन दर्ता गराउन जाँदै । तस्बिर – मोहम्मद सदरुल, भद्रपुर, रासस
भद्रपुर, १६ कात्तिक (रासस) – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका छन् ।
आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराउनुभयो ।
सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लिङ्देनको पनि उम्मेदवारी दर्ता
निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन ।
यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट (क)बाट वशन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएको छ ।
साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिनुभएको छ ।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट राम कार्की (सुरेन्द्र कार्की) र प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिनुहुनेभएको छ ।
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले बिहीबार दोश्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौँ–८ बाट मनोनयन दर्ता गर्दै । तस्वीर – नवीन पौडेल, रासस
नेकपा एमालेका संसदीय दलका उपनेता तथा संविधान सभाका पूर्व सभामुख सुवास नेम्वाङ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै । तस्बिर – टीका खतिवडा, इलाम, रासस