४१ बर्षीय विलियमसन बेलायतको रक्षामन्त्री

लण्डन – बेलायतकी प्रधानमन्त्री टेरेजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहनुभएका ४१ बर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गर्नुभएको थियो ।

एक महिला पत्रकारसंग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले आफ्नो पदबाट बुधबार राजीनामा दिनुभएको थियो ।

आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री मे समक्ष बुझाएपछि विलियमसनलाई आज उक्त पदमा नियुक्त गरिएको हो ।

यद्यपि फालनले राजीनामाको कारण भने खुलाउनुभएको थिएन । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो ।

तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री