चितवन–३ का मतदातासँग भेटघाट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल । तस्बिर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
रत्ननगर, चितवन, २४ कात्तिक (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ ।
वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो ।
आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो — ‘यसैका लागि वाम गठबन्धन गरिएको हो ।’
आज बिहान भरतपुरको पारसनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष दाहालले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
घरदैलोका क्रममा दाहाललाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो । घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए ।
घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गर्नुभयो ।
आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।
यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा काँग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।