डडेल्धुरा, ३० कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मसित त तपाईंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ।’ डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उहाँले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणासमेत राख्नुभयो ।
‘मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु’ देउवाले भन्नुभयो, ‘डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ । यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु’ ।
डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै उहाँले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताउनुभयो । ‘सडक सञ्जाल विस्तार भए पनि कच्ची भएकाले धुलो धुवाँ धेरै भयो,’ उहाँले भन्नुभयो – ‘अब सबै सडकहरु कालोपत्र गर्छु ।’
उहाँले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिनुभयो । ‘पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ,’ उहाँले भन्नुभयो – ‘डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।’
‘म कसैका विरुद्ध यहाँ बोल्न आएको होइन,’ देउवाले भन्नुभयो । त्यसैगरी उहाँले जोगबुढा भएर भारत जान महाकाली नदीमाथि पुल निर्माण गर्ने बताउँदै सो पुल निर्माणका विषयमा भारतसित सहमति भइसकेको जानकारी दिनुभयो । त्यसका साथै उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने वचनबद्धता पनि प्रकट गर्नुभयो ।
उहाँले वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाउँदै कम्युनिस्ट शासन त्रासपूर्ण हुने बताउनुभयो । ‘राणा शासन हटाएर प्रजातन्त्र ल्याउनदेखि ज्ञानेन्द्रलाई हटाएर लोकतन्त्र स्थापना गर्नसम्म काँग्रेसको भूमिका रह्यो’, उहाँले भन्नुभयो ।