संयुक्त अरब इमिरेट्स (इएई) को चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३० कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।
राष्ट्रपति भण्डारी युएईको अबुधाबीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा सोमबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा विशिष्ट अधिकारीले स्वागत गर्नुभयो । नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
भ्रमणका क्रममा भएको आपसी द्विपक्षीय भेटमा नेपालमा छिट्टै हुने संघीय संसद् र प्रादेशिकसभाको निर्वाचन, भूकम्पपछिको पुनःसंरचना, विकासका प्राथमिकता, नेपालमा महिला सहभागिता, व्यापार लगानी, पर्यटन, कृषि जलस्रोत तथा विकासको आधारशिला निर्माणका विषयमा कुराकानी भएको आपूर्तिमन्त्री जयन्त चन्दले जानकारी दिनुभयो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले युएईका युवराज, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रण गर्नुभयो । ‘भ्रमणका महत्वपूर्ण उपलब्धिका रूपमा युएईबाट शीघ्र एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने, नेपाल र युएईबीच सन् २०१० मा द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको तर त्यसको बैठक हालसम्म नबसेको हुँदा अब छिट्टै नेपालमा बैठक आयोजना गरी सबै विषयमा परामर्श गर्ने र सहयोग र सम्बन्धलाई अगाडि बढाउने विषयमा दुई पक्षबाट प्रतिबद्धता व्यक्त भएको छ’, मन्त्री चन्दले भन्नुभयो ।
युएईमा कार्यरत करिब दुई लाख नेपालीको हित र कल्याणका लागि निरन्तर पहल गर्नेबारे पनि छलफल भएको छ । नेपाल तथा युएईले सन् १९७७ जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।