कैलालीको धनगढीमा आज संयुक्त बाम गठबन्धनद्धारा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्वीर – तिलकराज ओझा, रासस, कैलाली
धनगढी, ८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गर्नुभएको छ ।
यहाँ आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकीकरण गर्न लागिएको स्पष्ट गर्नुभयो ।
विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “जातीय क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता फस्नेवाला छैनन् ।”
नेता ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्षताको व्यवहार देखाउनुपर्नेमा जोड दिनुभयो ।
सभामा कैलाली निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, लेखराज भट्टलगायतले पनि बोल्नुभएको थियो । नेता ओलीले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित चुनावीसभालाई समेत सम्बोधन गर्नुभयो ।
देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमा – दाहाल
योङ्ग कम्युनिष्ट लिग नेपाल र युवा संघ नेपाल चितवनले शुक्रबार चितवनको पार्वतीपुरमा आयोजना गरेको क्षेत्र –३ स्तरीय संयुक्त भेलामा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर – नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
चितवन, ८ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताउनुभएको छ ।
योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं ३ को संयुक्त भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थिर सरकारले मात्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्नसक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा परयो, धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् तर, पूर्व प्रधानमन्त्री मनमोहन, केपी ओली र मैले सरकारको नेतृत्व गर्दा केही नयाँ रेकर्ड बनाएका छौंँ, हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरेर रेकर्ड बनाएको छ ।’
सत्तरी वर्षदेखि अस्थिरताको भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको भन्दै उहाँले भन्नुभयो– “हामीले नै देशको जिम्मा लिनुपर्छ, कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिनसक्छ, राजनीतिक स्थिरता दिनसक्छ ।” स्थिर सरकार बने मात्रै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने अध्यक्ष दाहालले बताउनुभयो ।
उहाँले स्वदेशमा रोजगारी दिन नसक्दा लाखौं युवा विदेशिएको बताउँदै केही आम्दानी भए पनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– ‘खाडीमा नेपाली मजदुर पीडा र आतंकका बीचमा बाँचिरहेका छन् ।’
युवालाई उच्च मनोबलका साथ एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै उहाँले युवालाई योजनावद्ध रूपमा आक्रमक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘युवालाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाको अपमान गर्नेहरूका विरूद्ध सचेत ढंगले मुकाबिला गर्नुहोस् ।’
साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले भविष्यका लागि सोच्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी दक्षिणपन्थीले मात्रै होइन, अन्तर्राष्ट्रिय बुर्जुवाहरुले पनि युवालाई उपयोग मात्रै गर्दछन् ।’
–नारायण अधिकारी
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।