काठमाडौँमा थप आकाशे पुल बनाउने तयारी

काठमाण्डौंको कलंकी । तस्विर हेमन्त श्रेष्ठ

काठमाडौँ, ९ मंसिर (रासस) – काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ ।

हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डपलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गर्ने बताउँदै चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीकासाथ कामपाले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको राससलाई बताउनुभयो ।

नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो ।

‘नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्नेछ’, प्रमुख शाक्यले भन्नुभयो- ‘एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि रु पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन् ।’

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री