भ्रष्टाचार विश्वकै चुनौती – प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २३ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताउनुभएको छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अकूत र गैरकानुनी रुपमा आर्जित सम्पति अर्को मुलुकमा समेत राखिने प्रवृत्ति देखिएकाले यसको नियन्त्रणका लागि सबै मुलुकको सहकार्यको खाँचो औंल्याउनुभएको हो ।

उहाँले नेपाललाई भ्रष्टाचारविरुद्ध शून्य सहनशील मुलुकमध्येमा पार्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै भ्रष्टाचारको नियन्त्रण र कारबाहीका लागि आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ, यसको कार्यान्वयन गरी समाजमा सदाचार स्थापनाका लागि सबैको सहयोग आवश्यक छ । यसका लागि विद्यमान कानूनमा आवश्यक पुनरावलोकनका लागि पनि हामी प्रयत्नशील छौँ ।’

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सरकारी सम्पतिको हानी नोक्सानी र दोहनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार बढेमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने बताउनुभयो ।

उहाँले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी बनाइने नीति र कानून पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुने भन्दै निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार मानव व्यवहारबाट सिर्जित कुकार्य भएकाले सबै पक्षबाट सर्वोपरीरुपमा लागेमा यसको नियन्त्रण सम्भव भएको उल्लेख गर्नुभयो ।

आयोगका सचिव राजन खनालले भ्रष्टाचारबाट आर्जित रकमले विश्वमा आतंककारी क्रियाकलाप समेत भइरहेकाले आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीति बमोजिम सुशासन गराउने कार्य गर्दैआएको बताउनुभयो ।

नेपाल, सन् २००३ मा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रभएदेखि हरेक डिसेम्बर ९ मा यो दिवस मनाउँदै आएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री