काठमाडौँ क्षेत्र ९ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि विजयी जुलुसमा सहभागी हुँदै कृष्णगोपाल श्रेष्ठ । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, २३ मंसिर – काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।
नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ–९ मा वाम गठबन्धन विजयी
काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ ।
वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याउनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौँ ३ मा राई विजयी
काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १६९ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गर्नुभएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा जन्मनुभएको हो ।
नेता नेपालको अग्रता
काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेका नेता माधवकुमार नेपालले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अगुवाइ गरिरहनुभएको छ ।
हालसम्म गणना भएको २७ हजार ६१७ मध्ये नेपालले १३ हजार ८७० र नेपाली काँग्रेसका दीपक कुइँकेलले सात हजार २८२ मत प्राप्त गर्नुभएको छ । यस्तै विवेकशील साझा पार्टीका डा सूर्यराज आचार्यले चार हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ–३ प्रदेश (क) मा काँग्रेसका लामा विजयी
काठमाडौँ क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाउनुभएको काठमाडौँ क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले राससलाई जानकारी दिनुभयो ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाउनुभयो ।
अहिले प्रदेश (ख)को मतगणना भइरहेको छ । प्रदेश (ख)मा वाम गठबन्धन झिनो मतले अगाडि छ । वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाउनुभएको छ । दुई घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ–६ मा वामको अग्रता
काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ ।
गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाउनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।
अहिलेसम्म २९ हजार मतगणना भइसकेको उहाँले बताउनुभयो । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाउनुभएको छ । आज बेलुकीसम्म काठमाडौँ–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो । यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौँ महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।