नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा भक्तपुर क्षेत्र–२ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी नेता महेश बस्नेत, शशी जंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिएपछि । तस्बिर – रमेश गिरी, भक्तपुर, रासस
काठमाडौं,२४ मंसिर – यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७३ पुरुष र एक महिला हुनुहुन्छ । यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ जसमा १५३ पुरुष र आठ महिला निर्वाचित हुनुभएको छ ।
आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।
समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन् । मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आज बिहान १०.३० बजेदेखि शुरु भएको जनाइएको छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।