बेलायतको रातो पासपोर्ट अगाडि विचरा पत्रकार भाई !

श्याम लुईंटेल

लन्डन । ‘ए भाई सञ्चै छ । कस्तो चल्दैछ जिन्दगी ? अनि के हुंदैछ भिजा ?’ आफूलाई सामाजिक अभियन्ता भन्ठान्नेले अलिक अगाडि फोनमा जिज्ञासा अनि सांच्चिकै चिन्ता भए जस्तो अभिनय गरि भन्दै थिए, ‘वर्क परमिटवालाहरुको त वेहाल रहेछ अहिले । स्पोन्सरसीप लाइसेन्स खारेजी भएका भइ छन् । विद्यार्थी त धेरै घर फर्किसके । कागज बनाउन गाह्रो बनायो बेलायत सरकारले । जे होस तिमी चाहिं टिकेकै छौ नि ?’

बेलायतको नेपाली समाजका कथित अगुवा भन्नेले आम नेपाली पत्रकारसंग स्टाटस र 
करुणाबाट संवाद शुरु गर्छ अहिले । आफ्नो अनुकुल ‘विज्ञापन समाचार’ बनाउनु परे भाई सहयोग गर्नु परयो भन्दै फोन र टेक्स्ट गर्ने तर अलिकति प्रतिकुल समाचार आउने बित्तिकै ‘विचरा भाईलाई दया गरिदिएको नत्र होम अफिसमा सिकायत गरेर अहिल्यै घर फिर्ता पठाइदिन सक्थें ।’

त्यही अगुवा मदिरापान जमघटमा अरुलाई सुनाउंछ ‘विचरा विद्यार्थी भाईहरु हुन्, यसो पत्रकारिता गरेर सान दिन्छन् नै । परयो भने ठीक पार्न त हामीले पनि जानेका छौं नि ।’

शरणार्थी बनेर, बेलायती पासपोर्टधारी केटीसंग विवाह गरेर ‘डिभोर्स’ गरी नेपालीसंग भर्खरै दोश्रो विवाह गरेर पारिवारिक जीवन चलाएकादेखि गोर्खा आर्मी र पांच वर्षसम्म एसियन रेष्टुरेन्टमा कठोर श्रम शोषण भोगेर रातो पासपोर्ट लिएका सम्मले गरेका संवाद सुन्दा अचम्म लाग्छ, रिस पनि उठ्छ । अनि मनमनै हांसो पनि लाग्छ । उनीहरुले आफ्नो धरातल बिर्सिएको देख्दा दया पनि ।

के सोच्दा हुन् उनीहरु विद्यार्थी जीवनबाट यूके प्रवेश गरि नेपाली पत्रकारिता गर्नेलाई ? गए गुज्रिएका नेपाली वा विचरा भाई ? १६ वर्षे जोवनमै पल्टनमा छिरेका मामाहरु जीवनको उत्तरार्धसम्म ‘सेक्युरिटी’ मा जागिर खाएर आफ्नो परिवार धानिरहेका छन् । तिनिहरुले विचरा विद्यार्थी भाई भन्दा उल्टै उनीहरुप्रति दया लाग्छ । किनकि त्यो विद्यार्थी गोरासंग कुममा कुम जोडेर काम गर्छ । अन्याय भयो भने अधिकांश मामाहरुले जस्तो ‘एस सर, एस सर’ भन्दैन् । उल्टो यहां कानुन तंलाई नि लाग्छ… भन्दै सचेत गराउंछ । तरपनि उसलाई हाम्रा बेलायती नेपालीले यसरी हेर्छन् । तर, हामी भने ब्रिटिश गोर्खा आर्मीलाई उच्च सम्मान गर्छौं । किनकि एक जनाको जागिरले उसको सपरिवार विकसित देशमा बस्न पाउने सुअवसर छ । कतिपय क्षेत्रमा प्रगति गरेका व्यक्तित्व पनि छन् । उनीहरुले हामीलाई 
हेर्ने दृष्टिकोण फरक छ । तर, अपवादमा ‘विचरा भाई’ भन्ने केही भूपूहरु अहिले आफ्नो कमजोर धरातल सम्झन समेत तयार छैनन् ।

अर्कोतर्फ, बेलायती रातो पासपोर्टधारी केटीसंग कागजकै लागि विवाह गर्ने अनि कागज बनिसकेपछि आफू भन्दा आधा कम उमेरकी नेपालीसंग विवाह गरेर जीवन चलाइरहेकाले पनि विचरा भाई भन्छन् । उल्टो पत्रकारितासंग जोडिने विद्यार्थी वा वर्कपरमिट वालाहरुलाई त ‘कम्प्लेन’ गरेर ‘डिपोर्ट’ गर्ने धम्कीसम्म दिन पछि पदैनन् । उनीहरु बेलायतको अध्यागमन निकायका प्रमुख हौं जसरी प्रस्तुत हुन्छन् ।

पेशालाई सम्मान गर्ने मुलुक बेलायतमा ‘सेफ’ पेशालाई उत्कृष्ट मध्येकै एक मानिन्छ । सबैले सबै पेशालाई सम्मान पनि गर्छन् । तर, पांच वर्षे कठोर अनि चर्को श्रम शोषण र दवावमा ‘फ्राइपेन’ हल्लाएर बनाएको रातो पासपोर्ट हातमा पर्ने बित्तिकै उसले पनि विचरा भाई भन्न थाल्छ । किचनबाट सुरु भएको जिन्दगी किचनमै सकिएको चटक्कै बिर्सिन्छन् उनीहरु । दशकौं बेलायतमा बिताउंदा पनि नेपाली र हिन्दी बाहेक सामान्य अंग्रेजी समेत बोल्न गाह्रो पर्ने आफ्नो कमजोरी उनीहरु स्वीकार गर्न तयार छैनन् । तर, विद्यार्थी भाई भन्न हिचकिचाउंदैनन् ।

फ्राइपेन भित्र अल्झेको जीवनलाई नियाल्न समेत नसक्नेले पनि हामीलाई विचरा भन्छ । के हामी सांच्चै विचरा नै हो त ? बेलायतको डिग्री बेलायती भिजाको अगाडि कागजको खोस्टो ? मनमनै घोत्लिन्छु अनि प्रश्न गर्न मन लाग्छ- ‘बेलायतमा विद्यार्थी भिजामा आएर यहां पत्रकारिता गर्नु अपराध हो र ?’

रातो पासपोर्ट वा आइएलआरका अगाडि उनीहरु एक शब्द नि बोल्ने आंट गर्दैनन् । उल्टो हजुर, तपाईं र सर भन्छन् । तर रातो पासपोर्ट वा ‘सेटलमेन्ट’ नहुने माथि उनीहरुको हेपाहा प्रवृत्ति कम्ती छैन् ।

हामी विद्यार्थीमा आएपनि आफ्नैं काम गरेर खाएका छौं । उनीहरुलाई कहिल्यै दुःख दिएका छैनौं । तर नेपाली समाजका अगुवाहरुले सामाजिक सञ्जालमा दिनको तीन पटक लेख्ने स्टाटसलाई लाइक वा कमेन्ट चाहि गरेका छैनौं । एनआरएनमा टिका थाप्दा बधाइ भनेका छैनौं । नेताले जितेपछि उसंगको तस्विरमा लाइक गर्न संकोच मानेका छौं । अनि उनीहरुका दास झैं जे लेखेपनि राम्रो गर्नु भो दाई वा दिदी भन्दै गुणगान पनि गाएका छैनौं । उनीहरुले बेलायती रातो पासपोर्ट कसरी लिए भनेर समाचार पनि बनाएका छैनौं । यस्तै मौनताले हामीलाई विचरा भाई बनाएको हो कि ?

बेलायतस्थित नेपाली समाजका कथित अगुवाहरुले गरेका गलत कामको अन्धभक्त भएर समर्थन नगर्नु नै अपराध हो त ? हामीले पनि उनीहरुले झैं रातो पासपोर्टका लागि शरथार्णीको निवदेन नहाल्नु, बेलायत पासपोर्टधारीसंग विवाह नगर्नु र गुणगान नगाउनुले नै विचार भाई भएको हो कि ?

‘अरु त म के भन्न सक्छु विचारा भाईका निजी कुराहरु !’ तपाईंले सोधे जस्तै ‘विचरा भाई’ ले पनि निजी कुराका बारेमा समाचार बनाए भने के होला ?

गाउं नै पिच्छेका संगठन र सामाजिक सञ्जालमा देखाएको भ्रम र अर्काको फेरो समातेर पाएका पदका बारेमा त्यो विचरा भाईले कलम चलायो भने यिनीहरुको बेलायतमा रातो पासपोर्ट लिएर देखाएको मान र सान कहां पुग्ला ? एउटा सामान्य काम गरेर मोर्गेज तिरेर सामान्य जीवन बिताएको यथार्थता सार्वजनिक गर्ने हो भने जन्मभूमि नेपालमा लगानी भित्रयाउंछु भन्दै गरेको झूटो भाषणको के अर्थ रहला ? बिजनेश टाट पल्टेर चाबी फालि अहिले भौंतारिरहेकाबारे लेख्ने हो भने उनीहरुलाई कसले सम्मान गर्लान् ?

अर्काको निजी जीवनमा औंला उठाउनु अघि आफ्नो बारेमा पनि घोत्लिने हो कि मान्यवर ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री