ब्रसेल्स, बेल्जियम, ६ पुस – युरोपेली युनियन (इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेका बताइएको छ । यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताउनुभएको छ ।
उहाँले बिहीबार ब्रसेल्समा भन्नुभयो– ‘बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँग वार्तालाई अघि बढाएको छ र ठीक बाटोमा यो विषय अघि बढिरहेको छ, त्यसैले समयमै बेलायतको बहिर्गमन हुनसक्ने देखिएको छ ।’
बेलायतको बहिर्गमनका लागि यसअघि युरोपेली युनियनका उच्च अधिकारीहरुसँग बेलायतका प्रधानमनत्री टेरेजा मेले वार्ता गर्नुभएको थियो ।
उहाँले पछिल्लो समयमा यस विषयमा युरोपका विभिन्न नेताहरुसँग निकै चरणमा वार्ताहरुलाई निरन्तरता दिनुभएका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।
प्रधानमन्त्री टेरेजा मे बिहीबारै पोल्याण्डको भ्रमणमा जान लाग्नुभएको छ । उहाँ बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै हुनुहुन्छ ।
पहिलेको तुलनामा सहमतिको निकै नजिक वार्ता पुगेको टस्कले बताउनुभयो । ‘सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आयरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ’, ईयू प्रमुख टस्कले बताउनुभयो ।
ब्रेक्जिटका बिषयमा आयरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गर्नुभएको थियो । उक्त वार्ताका क्रममा पनि निकै सकारात्मक जवाफ आफूले पाएको जानकारी उहाँले दिनुभयो ।
अध्यक्ष टस्कले इयू नेताहरू खुला व्यापारसम्बन्धी वार्ताका लागि सहमति जनाउने सङ्केत आफूले पाएको पनि उहाँले हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।
बेलायतले आफू इयूको सदस्य नरहनेगरी बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ । तर, औपचारिक रुपमा बाहिरिन मात्र बाँकी छ ।