बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरलगायत । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गर्नुभएको छ ।
बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री देउवाले ‘विपद् जोखिम न्यूनीकरण नीति छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ, यससम्बन्धी ऐन २०७४ बनिसकेकाले सुरक्षित निर्माण संस्कृतितर्फ लाग्नुपर्छ’- भन्नुभयो ।
मूल समारोह समितिका अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दीर्घकालीन रुपमै जोखिम कम गर्ने नीति सरकारले लिएको बताउनुभयो ।
‘प्राकृतिक र गैरप्राकृतिक विपद्बाट बच्नका लागि भू–उपयोग नीति बनाई लागू गरिनुपर्छ, भवनसंहिता पालनामा पनि कडाइ गरिनुपर्छ, अब नेपालले हस्ताक्षर गरेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि अनुसारका व्यवस्था गरिनेछ’–उहाँले भन्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेकामध्ये ८८ हजार घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । ‘दुई लाख ४५ हजार घर पुनःनिर्माण भइरहेका छन्, भूकम्प प्रभावित २८२ स्थानीय तहमा दक्ष निर्माणकर्मीको तालिम भइरहेको छ, भूकम्पपीडितले घर बनाउन स्थानीय तहले एक हप्तामा नक्सा पास निःशुल्क गर्ने व्यवस्था गरिएको छ’–उहाँले भन्नुभयो ।
घर बनाउन नसक्ने ७५ वर्ष नाघेका वृद्ध-वृद्धा, ६० वर्ष नाघेका एकल महिलाको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ । अशक्तको आवास पुनःनिर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो ।
प्राधिकरणले यसै आर्थिक वर्षदेखि धरहरा पुनःनिर्माण गर्ने तयारी गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरका चोक एवं गल्लीभित्र अहिले पनि टेको लगाएका घर रहेकाले बाटो हिँड्दा डर लाग्ने अवस्था रहेको बताउनुभयो । ‘महानगरमा निजी घर निर्माण गर्दा मात्र नक्सा पास हुने गरेको छ, सरकारी भवन, सांस्कृतिक सम्पदालगायत संरचनाको नक्सा पास हुँदैन, अब यी संरचनाको पनि नक्सा पास गर्ने व्यवस्था हुनुपर्छ’–उहाँले भन्नुभयो ।
काठमाडौँलाई ऐतिहासिक र सांस्कृतिक शहर पुनःस्थापना गर्ने क्रममा निजी संरचना निर्माणका लागि केही सहुलियत दिए सहज हुने प्रमुख शाक्यले बताउनुभयो ।
मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा र मूल समारोह समितिका सदस्यसचिव एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका महासचिव आमोदमणि दीक्षितले विपद्पूर्वको तयारीका लागि जनचेतना जगाइनुपर्नेमा जोड दिनुभयो ।
विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ आज देशभर विविध कार्यक्रम गरी दिवस मनाइयो । यसअघि नयाँ सडकको जुद्ध सालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिएको थियो ।
दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । ७५३ वटै स्थानीय तहलाई पनि जनचेतनामूलक कार्यक्रम गर्न जिल्ला प्रशासनले नै समन्वय गरेको थियो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।