एनआरएनए यूकेको सल्लाहकारमा म जस्तै झन्डै तीन सय मनोनित भएको खबर मैले पत्रिका मार्फत जानकारी पाएँ । यो समाचारले म मात्रै हैन धेरै छक्क परे होलान । फोन वा सामाजिक संजाल मार्फत केहीले बधाई दिए, केहीले व्यंग्य गरे । नाम नपर्ने इर्ष्याले जले होलान । नाम पर्ने केही खुशीले गदगद भए होलान । यी सबै प्रसङ्गलाई मैले सामान्य रुपमा लिएँ । यति धेरै संख्यामा मनोनयनले एनआरएन यूकेलाई के फाइदा होला त्यो त थाहा छैन । तर, केही सल्लाहकारको व्यक्तिगत भिजिटिंग कार्डमा वा इमेल सिग्नेचरमा पद भने पक्कै थपिने भयो ।
एनआरएनए यूकेको सल्लाहकारमा मनोनित भएको खबर मलाई उक्त संस्थाका एक जना पदाधिकारीले म्यासेज मार्फत गर्नु भएको थियो । यो भन्दा अघिल्लो कार्य समितिको जम्बो सल्लाहकार समूहमा म पनि थिएँ । त्यसैले पनि मलाई मनोनित गर्नु भन्दा पहिला मेरो सहमति लिन आवश्यक नभएको होला । जे होस म पनि यो कार्य समितिको सल्लाहकारमा मनोनित भएछु ।
बेलायतमा झन्डै आधा दर्जन नेपाली संघ संस्थाहरुसंग मेरो नाम जोडिएको छ । चार वटा संस्थामा म सल्लाहकार छु । बाँकी दुई पेशागत संस्थाहरुमा म सदस्य छु । यी सबै संस्थामा मैले समय दिनु पर्ने मेरो कुनै प्रतिबद्धता छैन । मैले कहिले पनि नेपाली संस्थाको कार्यकारी समिति वा पदाधिकारीको रुपमा काम गरेको छैन । त्यसो गर्ने मेरो चाहना र समय पनि छैन । गत बर्षको समिक्षा गर्दा मैले यी कुनै पनि संस्थामा एक पटक पनि समय दिन सकिन । यो कुराले मलाई कुनै आत्माग्लानी र पछुतो पनि छैन । किनकि, मैले यी संस्थाहरुमा कुनै समय दिने र खास कुनै काम गर्ने प्रतिबद्धता जाहेर गरेको थिइन ।
मेरो मात्रै हैन, बेलायतमा सबैको जीवन एकदम ब्यस्त हुन्छ । म बेलायतमा राजनीति गर्छु । म एउटा राजनीतिक संगठनको सक्रिय सदस्य र कार्यकर्ता हुँ । म जननिर्वाचित प्रतिनिधिको रुपमा एउटा जिल्ला काउन्सिलको काउन्सिलर पनि हुँ । जीविकोपार्जन गर्नको लागि लण्डनको एउटा अस्पतालमा पूर्णकालिन काम गर्छु । साथै आंशिक रुपमा कुनै विश्व बिद्यालयमा पढाउने काम पनि गर्छु । मेरो साहित्यमा पनि रूचि छ । फुर्सद भयो भने म लेख रचना लेख्नमा पनि व्यस्त हुन्छु । अनि त्यस माथि बिदेशमा बस्ने र अलिकति नाम कमाउन सोख हुने अधिकांशले गर्ने यस्तै सल्लाहकारको जस्तो सामजिक काम मेरो भागमा पनि छँदैछ ।
मलाई थाहा छैन अहिले सम्म कति जना एनआरएनए यूकेका सल्लाहकारले कति बैठकमा भाग लिनु भयो वा के कस्तो योगदान दिनु भयो । मैले आमन्त्रण पाउँदा पाउदै पनि समय अभावका कारणले एनआरएनए यूकेको गत कार्यसमितिको एउटा पनि बैठकमा भाग लिइन । आत्मासाक्षी राखेर भन्नु पर्दा एनआरएनए यूकेलाई मैले कुनै योगदान दिन सकिन । यो एउटा तितो यथार्थ हो । मेरो मात्रै हैन अधिकांश सल्लाहकारको यस्तै अवस्था वा यस्तै भोगाई हुन सक्छ । यो यथार्थ थाहा भएर पनि अहिले फेरी किन मलाई सल्लाहकारमा मनोनित गरियो त्यो पनि मलाई थाहा छैन ।
हामी धेरै जसो नेपाली मूलका बिदेशी वा नेपालीको एउटा परिचय छ । हामी अधिकांश मानिस वा अधिकांश समय नाम, मान र सम्मानको लागि काम गर्छौ । काम गर्नको लागि हामी धेरैलाई रिझाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । कहिले कसैलाई भोटको लागि रिझाउनु पर्ने, कसैले आफ्नो बिरोध गर्छ कि भनेर उसलाई पनि रिझाउनु पर्ने, आफ्नो प्रचार प्रसारका लागि अरूलाई रिझाउनु पर्ने, प्रतिद्वन्दीलाई पाखा लगाउन पनि रिझाउनु पर्ने आदि हाम्रो बाध्यता छ । त्यसैले पनि हुन सक्छ सल्लाहकार संख्या बढेको ।
यसको अर्को पाटो पनि छ । सकारात्मक रुपमा लिने हो भने नेपालीको चलन के पनि छ भने आफू भन्दा ठूलोलाई मान, सम्मान दिने र राम्रो काम गर्नेलाई कदर गर्ने । अनि, त्यसैको स्वरुप कसैलाई सम्मानको रुपमा सल्लाहकार बनाउने । तर, कसैलाई कदर गर्दैमा वा सल्लाहकार बनाउँदैमा कुनै संस्थाको काम कारवाही कत्तिको प्रभावशाली हुन्छ र कत्ति सम्म संस्थाको लक्ष्य र उद्धेश्य पुरा हुन्छ भन्ने पनि हेक्का राख्नु जरुरी छ ।
अधिकांश नेपालीहरुको संघ संस्थाहरुमा सल्लाहकार यस्तो पद हो जसको नियुक्तीको लागि कुनै खास मापदण्ड हुँदैन । त्यस्तै कुनै संस्थाको सल्लाहकारले कुनै समय दिनु पर्ने वा कुनै खास काम गर्नु पर्ने प्रतिवद्धता जाहेर गर्नु पनि पर्दैन । यो अर्थमा भन्ने हो भने यो केवल मानको खातिर पद भन्ने जस्तो देखिन्छ । तर गम्भिर रुपमा लिने हो भने वा सल्लाहकारसंग साँच्चै सल्लाह लिने हो भने यो पदको गरिमा र महत्व ठूलो छ ।
एनआरएनए यूकेको सल्लाहकार हुन के कस्तो अनुभव, सीप, दक्षता वा योग्यता चाहिन्छ त्यो मलाई थाहा छैन । सल्लाहकारले सल्लाह दिने हो भन्ने सामान्य जानकारी बाहेक मैले के काम गर्नु पर्छ त्यो पनि मलाई जानकारी छैन । न त म संग त्यो सोधखोज गर्ने समय छ, न त संस्थाले मलाई जानकारी दिनु पर्छ भन्ने मान्यता नै छ । त्यसैले पनि मानको खातिर पद भन्दा यो पदको खासै ठूलो महत्व र गरिमा छ जस्तो देखिन्न ।
म पदलोलुप हो वा हैन यो त सबैले आ-आफ्नो किसिमले बिश्लेषण गर्ने कुरा हो । मैले न त अहिलॆसम्म कुनै संस्थामा मलाई सल्लाहकार वा कार्यसमितिमा बस्नु पर्यो भनेर कसैलाई भनेको छु, न म कसैको चाकडी वा चाप्लुसीमा हाजिर भएको छु । नामको लागि भन्ने हो भने त्यो पनि मलाई जरुरत छैन । हुन त ‘मौनम लक्ष्यनम सम्मति’ भन्ने चलन छ । यो अर्थमा भन्ने हो भने मैले यो सहज स्वीकार गरेको वा पद लिएको जस्तो लाग्न सक्छ ।
मैले कुनै पद स्वीकार गर्नु वा अस्वीकार गर्नुमा खासै ठूलो महत्व हुन्न, केवल दुई चार मिडियामा समाचार आउनु बाहेक । महत्व त यो कुराको हुन्छ कि कसले के काम कति प्रभावकारी रुपमा गर्न सक्छ, कसरी एनआरएनए यूके जस्तो संस्थालाई सबै नेपालीको साझा संस्था बनाउन र सबैको हितको लागि काम गर्न सक्छ । त्यसको लागि मेरो भूमिका र यो लेख पढ्ने पाठक वर्गको भूमिका निकै सिमित छ । सही नीति लिएर संस्थालाई अघि बढाउने, कुशल नेतृत्व दिने, संगठनलाई सही मार्गमा हिंडाउने र सबैको साझा संस्था बनाउने जिम्मा वा कर्तब्य संस्थाका पदाधिकारी सबैको हो ।
बिगतमा के कस्ता काम भए, त्यसको प्रतिफल के आयो र त्यो कुरा समाजले र संस्थाका सदस्यहरुले के कसरी लिए त्यसबाट पाठ सिक्नु जरुरी छ । सल्लाहकार मनोनयन प्रकरणमा बिगतको कार्य समितिको निकै ठूलो आलोचना हुँदाहुँदै पनि अहिलेको कार्य समिति फेरी त्यही बाटोमा हिडेको देखियो । यस अर्थमा कार्यसमितिको काम गर्ने शैलीमा शंका उपशंका गर्नु पर्ने अवस्था आउनु स्वभाविक हो ।
एनआरएनए यूके जस्तो संस्था चलाउन सजिलो छैन होला, तर प्रभावकारी रुपमा काम गर्छु भन्ने हो भने कुनै अवरोध पनि छैन होला । त्यसका लागि दृढ ईच्छाशक्ति, कडा मेहेनत, कुशल नेतृत्व, दिर्घकालिन र अल्पकालीन योजना बनाएर सामूहिक रुपमा काम गर्दै एनआरएनए यूकेलाई बेलायतमा बस्ने सबै नेपालीको मन जित्ने साझा संस्था बनाउनु जरुरी छ ।