काबुल, १४ माघ – अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या बढेर एक सय पुगेको छ ।
शनिबार भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर आइतबार १०० पुगेको बताइएको छ ।
त्यसैगरी सो घटनामा घाइतेको सङ्ख्या १६३ रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
घाइतेमध्ये अधिकांश पुरुष छन् । सामजिक सञ्जालहरुमा घटनाको चर्को निन्दा भएको छ ।
काबुलको मध्यभागमा अत्यधिक भिड भएको ठाँउमा विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोटन गराउदा कम्तीमा १०० जनाको मृत्यु भएको हो ।
घटनामा परी घाइते भएकामध्ये केहीको अस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझै पनि बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी रुपमा निन्दा भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शनिबार भएको सो हमलाको निन्दा गरेको छ ।
सुरक्षा परिषदद्वारा प्रकाशित विज्ञप्तिमा उक्त घटना ‘आतङ्ककारी र कायर’ हो भन्दै यस्ता घटनाको जतिसुकै निन्दा गरेपनि नपुग्ने बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले पनि सो हमलाको कडा शब्दमा भत्र्सना गर्नुभएको छ । उहाँले नागरिकको बाँच्न पाउने अधिकारको कुनै पनि पक्षबाट हमला गर्न नहुनेमा जोड दिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाको विरोध गर्नुभएको छ । उहाँले अफगानिस्तानलाई आतङ्कवादमुक्त गर्न अमेरिकाले जस्तोसुकै काममा पनि सघाउने धारणा राख्नुभएको ह्वाइट हाउसद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सो घटनाको निन्दा गर्नुभएको छ । त्यस्तै अफगानिस्तानका अधिकारवादीहरुले पनि उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।
शनिबार अपरान्ह काबुलको मध्य भागमा अवस्थित सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२.५० मा अत्यधिक भीड भएतर्फ लक्ष्यगरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स ठोकाइएको थियो ।
घाइतेहरुको अवस्था अत्यन्तै नाजुक छ । उनीहरुको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरूमा उपचारार्थ राखिएको छ ।
उक्त शक्तिशाली बम विस्फोट गराइएको क्षेत्रमा अफगानिस्तान गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न विदेशी र स्वदेशी संवेदनशील संघसंस्था र कार्यालयहरु छन् ।
एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरूले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरूको खोजी कार्य तीव्र पारेको जनाएका थिए । तर, उनीहरुलाई अहिलेसम्म पक्राउ गर्न भने नसकिएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार तालिबान लडाकूहरूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । त्यस लगत्तै उनीहरुले यो हिंसा मच्चाएका छन् ।