काठमाडौं- न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिश गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्ति गर्न र सहन्यायाधीवक्ता कृष्णजीवी घिमिरेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा सरुवाका लागि सिफारिश गरेको छ ।
त्यसैगरी बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव नृपध्वज निरौलालाई न्याय परिषद्को सचिवमा सरुवाका लागि सिफारिश पनि गरेको छ । निरौला बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा जानुअघि सर्वोच्च अदालतका सह-रजिष्टार थिए ।
द्वन्द्वकालमा मारिएका ५६ जनालाई शहीद घोषणा गरेकोप्रति आपत्ति
द्वन्द्वपीडित साझा चौतारीले चितवनको बाँदरमुढे घटनालगायतका स्थानमा मारिएका ५६ जनालाई मात्र शहीद घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका अध्यक्ष सुमन अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले यही माघ १२ गते बाँदरमुढे घटनाका ५६ जनालाई मात्र शहीद घोषणा गर्नु दलीय भागबण्डा र विभेदपूर्ण कार्य भएको उल्लेख गरेको छ ।
बाँदरमुढेमा गरिएको सार्वजनिक बसमाथिको विस्फोटमा मारिएका, त्यस्तै, द्वन्द्वकालमा माओवादीबाट मारिएका स्याङ्जा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई शहीद घोषणा गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै द्वन्द्वकालमा मारिएका व्यक्तिलाई विगतमा गरिएको शहीद घोषणा घोषणामै सीमित रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शहीद घोषणा गरिएका कतिपय नाम सरकारले फेरि दोहोरयाएर शहीद घोषणा गरिएको समेत देखिएको उल्लेख छ । सरकारद्वारा हचुवा एवं एकपक्षीयरुपमा गरिएको शहीद घोषणा शान्ति प्रक्रियाको मर्मविपरीत एवं राजनीतिकरुपमा एकपक्षीय देखिएको जनाएको छ ।