आचार्यले दिए पर्वतका विपन्न बालबालिकालाई न्यानो कपडा

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधी आचार्यले पर्वतका वालवालिकालाई न्यानो कपडा उपलव्ध गराइदिएका छन् । आचार्यले आफ्नो गृह जिल्ला पर्वत फलेवास ३ स्थित जनसहयोगी मावि, चाउकामा अध्ययनरत कक्षा १ देखि १० सम्मका सबै बालबालिकालाई न्यानो कपडा पठाएका हुन् । १७० थान न्यानो कपडा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले विद्यालयमै पुरयाएर वितरण गरे ।

जलजला – ७ धाइरिङ घर भई हाल लन्डनमा व्यवसाय समेत गर्दै आएका समाजसेवी दधी आचार्यले स्थानीय कान्तिपुरकर्मी अगन्धर तिवारीको आग्रहमा न्यानो कपडा पठाएका हुन् ।

खोला किनार र जंगलबीचको विद्यालय । कात्तिकदेखि फागुनसम्म विद्यालयको छानाले समेत सूर्यको प्रकाश देख्न पाउंदैन । यही विद्यालयमा मध्य माघको ठिहिरयाउने ठण्डीमा एकसरो कमिज र पाइण्टको भरमा लुगलुग काम्दै विद्यालय आउंछन् विद्यार्थी ।

सामुदायिक विद्यालय भएकाले यहां गाउंमा मजदुरी गर्नेले मात्रै पढ्न पठाउंछन् । जातिय हिसावले कथित उपल्लो (ब्राम्हण, क्षेत्री) वर्गका बालबालिका अधिक रहे पनि बिहान बेलुका छाक टार्नकै लागि मजदुरी गर्ने परिवारको बाहुल्यता छ । चिसोकै कारण यो समयमा अधिक विद्यार्थी अनुपस्थित हुन्छन् ।

बालबालिकाहरुको यही समस्या बुझेका आचार्यको मन पग्लियो र जिल्लाकै जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका दधी आचार्यले न्यानो कपडा पठाए ।

न्यानो लुगा पाएपछि विद्यार्थी दंग छन् । आइतबार दिउंसो चिसोमा दांत किट्किट्याउंदै बसेका बालबालिका सांझ न्यानो लुगामा घर फर्किए । ‘लुगा किन्ने पैसा घरमा कहिल्यै हुंदैन,’ कक्षा १० का सुशान्त अधिकारीले भने, ‘लुगा छैन भनेर पढ्न छोड्न त भएन ।’ दयनीय अवस्थाका यसोधा रेग्मी, योगमाया तिवारी लगायत बालबालिकाहरुले यसअघि जाडोकै कारण कक्षामा पढाएको पनि बुझ्न कठीन भएको बताए । ‘अब यो वर्ष ढुक्कले पढिन्छ’-विद्यार्थीले भने ।

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले राज्यले जातिय आधारमा गर्ने विभेदको चरम मार कथित उपल्लो जातीका बालबालिकाले भोग्न वाध्य भएको बताए । ‘एउटा व्यक्ति पजेरो चढेर राज्यको विशेष सुविधा लिन जांदा कथित उपल्लो जातको व्यक्ति भोको पेटमा बसेर टुलुटुलु हेर्छ । ऊ केहि बोल्न सक्दैन’- थापाले भने, ‘यहांका अधिकांश बालबालिका त्यही विभेदको शिकार बनेका हुन् ।’

विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट छ । शैक्षिक अवस्थाकै कारण यहां डेढ घण्टाको बाटो हिंडेर कुश्मा नगरपालिका र फलेवास ४ मुडीकुवाका विद्यार्थीसमेत आउंछन् । तर, राज्यले दिने सुविधाबाट यहांका सबै बालबालिका वञ्चित छन् । राज्यबाट वञ्चित भए पनि विभिन्न दाताहरुको सहयोगमा जेनतेन चलेको विद्यालयमा अहिलेसम्म माध्यमिक दरबन्दीको शिक्षक छैन् । सिमित स्रोतबाट सञ्चालित न्यून पारिश्रमिक दिएर अधिकांश शिक्षकलाई स्थानीय स्रोतबाटै व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर थापाले बताए ।

शिक्षा अधिकारी पौडेलले न्यून अवस्थाबीच विद्यालय र विद्यार्थीको लगनशिलताको प्रशंसा गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री