प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

प्रदेश नं. ७ को आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा हुने पहिलो प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा सभास्थलमा जम्मा भएका प्रदेश सांसदहरु । तस्वीर – शेरबहादुर सिंह, रासस धनगढी

विराटनगर, २० माघ – विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ ।

जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ, केही प्राविधिक पक्ष लगायतका कार्य आज सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

यसैगरी मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय, आवास लगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ । उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नं १ र विराटनगर राखिने छ ।

विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्य मन्त्रीको कार्यालय र निवास रहने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

यस्तै प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय सिँचाइ निर्देशनालयमा र आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा रहने व्यवस्था गरिएको छ । उक्त मन्त्रालयमा ४१ वटा कार्यका लागि ४१ जना कर्मचारीको दरबन्दी छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत २४ वटा कार्यका लागि १८ जना कर्मचारीको दरबन्दी छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत विभिन्न २२ वटा कामका लागि २४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य कार्यालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ५८ कामका लागि ३० कर्मचारीले कार्य गर्ने प्रजिअ आचार्यले बताउनुभयो ।

उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहने छ भने ३२ कामका लागि २९ कर्मचारी यस मन्त्रालयमा कार्य गर्ने भएका छन् ।

प्रत्यक्ष प्रशारण 

यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने भएको छ । यसका लागि केही प्राविधिक पक्षबाहेक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय टेलिभिजनले सभास्थलबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी आज सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

मर्यादापालक पोशाक 

यस्तै बैठकका लागि हाल १५ जना पुरुष तथा सातजना महिला मर्यादापालक राखिने छ । उनीहरुको पोशाकसमेत तय गरिएको छ । पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ ।

सभाप्रवेश परिचय पत्र 

प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा प्रवेशका लागि सांसद, मर्यादापालक, सञ्चारकर्मी, आगन्तुक, विशिष्ट नागरिक, पूर्व सांसदलाई सभास्थल प्रवेशपास (परिचय पत्र) वितरण गरिने छ ।

१४ जिल्ला प्रतिक झल्काउने चिन्ह राख्ने 

प्रदेशसभा बैठक कक्षमा १ नं प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिन्ह फोटो फ्रेममा राखिने भएको छ । जिल्लालाई चिनाउने मुख्य चिन्ह विशेष रुपमा सजावट गरी राखिने भएको छ । प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन् । सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको जनाएको छ । मनोज दाहाल/रासस

प्रदेश को बैठकको तयारी पूरा

सुर्खेत, २० माघ – प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ । भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।

‘प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ’- प्रदेश संसद् सचिव सञ्जय दाहालले भन्नुभयो, ‘संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।’

पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् ।

सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो । दलहरुबीच भएको सहमतिअनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

मन्त्रिपरिषद्को कार्यालय स्थापना 

प्रदेश संसद् बैठकको मिति नजिकिएसँगै मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय प्रशासन भवनमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरिएको हो ।

यस्तै प्रदेश मुख्य सचिव सुरेश प्रधान, मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले पनि शुक्रबार पदबहाली गरेर काम शुरु गरेका छन् ।

मुख्य सचिव प्रधानले आउने बुधबारसम्म सबै मन्त्रालय स्थापना गरिने बताउनुभयो । संघीय संरचनाका लागि प्रस्ताव गरिएका भवन खाली हुने क्रममा छन् उहाँले भन्नुभयो, ‘मंगलबारसम्म सबै भवन खाली गराएर मन्त्रालय स्थापना गर्छौं ।’ उनले क्षेत्रीय कार्यालय खारेज भइनसकेका र उनीहरुका कार्यक्रम पनि सञ्चालन भइरहेकाले भवन खाली गराउने काम केही ढिलो भएको बताउनुभयो ।

‘क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री र प्रमुख सचिवको कार्यालय स्थापना गरिसकेका छौँ’ उहाँले भन्नुभयो- ‘बाँकी मन्त्रालय बुधबारबाट सञ्चालनमा आउने छन् ।’

जिल्ला जनस्वास्थ्य कार्यालयमा गृहमन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिँचाइमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशुसेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन् ।

प्रदेशसभा बैठकको तयारी तीव्र, बैठकको कार्यसूची तय

वीरेन्द्रनगर, सुर्खेत, २० माघ – प्रदेश नं ६ अस्थायी मुकाम सुर्खेतमा आइतबार बस्ने प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको तयारीलाई तीव्रता दिइएको छ ।

वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बस्ने बैठकको तयारीका लागि अहिले कर्मचारीलाई भ्याइनभ्याइ छ । बैठक हलमा कुर्सी मिलाउनेदेखि हललाई शोभायमान बनाउने कार्यमा कर्मचारी खटिरहेका छन् । ‘भोलि बस्ने पहिलो बैठकको अध्यक्षता (ज्येष्ठ सदस्य) हिमबहादुर शाहीको उपस्थितिमा आज पूर्वाभ्यास हुंदैछ’–संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले भन्नुभयो ।

सर्वदलीय बैठकले भोलि बस्ने बैठकको कार्यसूचीसमेत तय गरिसकेको बैठकमा सहभागी प्रदेशसभा सदस्य सीता नेपालीले जानकारी दिनुभयो । आइतबार दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक-एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ ।

सम्भवतः सोही बैठकले यही माघ २९ गते सभामुख चयनका लागि चुनावको मिति तोक्ने बताइएको छ । त्यसका लागि संसद् सचिवालयले आवश्यक चुनावी तयारीसमेत गरिरहेको छ ।

बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । ‘हामीले औपचारिक पोशाक भनेका छैनौँ, तर कम्तीमा संसद्को मर्यादा देखिने पोशाक लगाएर आउन आग्रह मात्र गरेका हौँ’–संसद् सचिवालयका सचिव खड्काले भन्नुभयो ।

प्रदेश नं ६ मा नेकपा (एमाले) बाट २०, नेकपा (माओवादी–केन्द्र) बाट १३, नेपाली काँग्रेसबाट छ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी ४० जना सदस्य हुनुहुन्छ ।

यसैगरी शुक्रबार मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यलय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । प्रदेश नं ६ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिवमा नियुक्त हुनु भएका सुरेश प्रधानले पनि शुक्रबार नै पदवहाली गर्नु भएको थियो ।

नीरज गौतम-लक्ष्मी भण्डारी/रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री