प्रदेश नं २, ५, ६ र ७ मा यी भए पहिलो बैठकका निर्णय

प्रदेशका प्रदेश सभासदमध्ये जेष्ठताको आधारमा सभामुखको जिम्मेवारी पाएकी सभामुख दिव्येश्वरी शाह कैलालीको धनगढी प्रदेश नं ७ मा आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा जांदै । तिलकराज ओझा, धनगढी , रासस

जनकपुरधाम, २१ माघ – प्रदेश नं २ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा प्रदेशसभा सदस्यले प्रदेशलाई नमूनाका रूपमा प्रवर्धन गर्नका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले आज बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त पहिलो अधिवेशनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि प्रदेशसभा सदस्यले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।

छलफलमा भाग लिँदै संघीय समाजवादी फोरम नेपालका लालबाबु राउतले संविधान संशोधनमा जोड दिँदै प्रदेशमा चुनौती अधिक भएपनि उपलब्ध स्रोत साधनलाई अवसरका रूपमा लिइ सदुपयोग गरेमा प्रदेश नं २ नमूना बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

वीरगञ्जवासीको आकांक्षा, मनोभावना र सम्मानका लागि सबैलाई आग्रह गर्दै उहाँले प्रदेशमा अधिवेशन हुनुले परिवर्तनको आभाष र सुशासन कायम गर्ने अवसर प्राप्त भएको धारणा राख्नुभयो ।

राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनारले मधेशी जनताका लागि ६५ वर्षपछि आजको दिन ऐतिहासिक र स्वर्णीम दिन भएको प्रशंग उल्लेख गर्दै प्रदेशलाई सभ्य र व्यवस्थित गर्ने दायित्व सबैमा आएको छ भन्नुभयो ।

प्रदेशका पाँच जिल्लामा खानेपानीको अभाव रहेको छ भन्दै उहाँले प्रदेशमा विकासका अपार सम्भावना भएकाले चुनौतीलाई स्वीकार गर्दै अघि बढ्नु जरूरी भएको बताउनुभयो ।

नेकपा (एमाले) का सत्यनारायण मण्डलले प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सभ्यता र संस्कृतिको केन्द्र भएको चर्चा गर्दै प्रदेशमा व्याप्त, अशिक्षा तथा युवाशक्ति पलायनजस्ता समस्या समाधानमा सबैको ध्यान जानु आवश्यक भएकाले प्रदेश सरकारलाई एमालेले रचनात्मक सहयोग गर्नेछ भन्नुभयो ।

सोही दलका शत्रुघन महतोले प्रदेशमा पर्यटनको विकास, उर्वरभूमिको उचित प्रयोगका लागि सिँचाइको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै विकासका मुद्दामा सबै एकजुट हुन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका रामसरोज यादवले संविधान संशोधन, कृषि व्यवस्थापन, चुरे संरक्षण, सुनकोशी कमला डाइभर्सन, सिँचाइ आयोजना कार्यान्वयन आदिमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का भरतकुमार साहले प्रदेशको उर्वरभूमिको सदुपयोग तथा विपन्न वर्गको उत्थानमा ऐक्यबद्धताको आवश्यकता छ भन्नुभयो ।

नेपाल संघीय समाजवादी पार्टीका सावित्री देवी साहले मधेशीको अधिकारप्राप्तिको यात्रामा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । स्वतन्त्र सदस्य शेख अब्दुल कलाम आजादले विकासको मुद्दामा द्वन्द्व गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं  – प्रदेशसभा अन्तरिम कार्यविधि२०७४ पारित

बुटवल, २१ माघ – राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, बैठकमा सभामुखले प्रदेशसभा कार्य सञ्चालन कार्यविधि, २०७४ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँचजना सदस्यको मनोनयनलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले नेकपा (एमाले)बाट कमलप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट अष्टभुजा पाठक, संघीय समाजवादी फोरम नेपालबाट सन्तोषकुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी मनोनित हुनुभएको छ ।

प्रदेशसभाको आजको ऐतिहासिक बैठकको कार्यसूचीबमोजिम बैठकको अध्यक्षता गर्नुभएका प्रदेश नं ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले यही माघ १२ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो ।

यस्तै, प्रदेशसभा अन्तरिम कार्यविधि–२०७४ को दफा (६) को उपदफा (१) बमोजिम आगामी फागुन २ गते प्रदेश सभामुखको चयनका लागि मिति तय गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बैठकले सर्वसम्मतरुपमा पारित गरेको छ ।

यसअघि प्रदेश प्रमुखको पत्र पढेलगत्तै प्रदेश नं ५ मा क्रियाशील राजनीतिक दलका नेताले सभालाई सम्बोधन गर्नुभएको थियो । सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले योजनाबद्ध ढंगले काम गर्नसके प्रदेश नं ५ लाई सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता प्रदेश सदस्य कुलप्रसाद केसीले प्रदेश नं ५ ले थारुवान, मगरात र अवधका नागरिकलाई भावनात्मकरुपमा जोड्नसके प्रदेशको समृद्धि हुने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रदेश सदस्य वीरबहादुर रानाले संघीय व्यवस्था भनेको सहकार्यको व्यवस्था भएकाले प्रदेशको समृद्धिका लागि सबैले दलभन्दा माथि उठेर काम गर्न तयार हुनुपर्ने बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता सहर्षराम यादवले विविधताकाबीच एकता कायम गर्दै पिछडिएका जातिलाई अधिकार दिएमा मात्र विकास सम्भव हुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तारा जिसीले समतामूलक विकासको योजना बनाइ प्रदेशको विकास गर्न सकिने बताउनुभयो । राजपाका नेता बिना पन्थ भने बिरामी भएका कारण सभामा अनुपस्थित रहनुभएको बताइएको छ ।

दिउँसो १.०० बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको थियो । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो ।

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभाको बैठकस्थलमा उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन २ गते हुने भएको छ ।

प्रदेश नं को प्राकृतिक स्रोत साधनको उपयोग गर्न जोड

वीरेन्द्रनगर, सुर्खेत, २१ माघ – “म प्रदेश नं ६ को पहिलो ऐतिहासिक अधिवेशनको प्रथम बैठक शुरु भएको घोषणा गर्दछु”, सभाध्यक्ष ज्येष्ठ सदस्य हिमबहादुर शाहीको यो वाक्य उच्चारणसँगै प्रदेश नं ६ को अधिवेशन बैठक औपचारिक रुपमा शुरु भई सम्पन्न भएको छ ।

अपराह्न १ बजेर चार मिनेटमा संसद् बाहिरको जनाउ घण्टी बजाइएपछि ज्येष्ठ सदस्य शाहीले बैठक शुरु भएको घोषणा गर्नुभएको थियो । प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिअनुसार सभाध्यक्ष शाहीले प्रदेश प्रमुखको बैठक आह्वान गरेको सम्बन्धित पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै बैठकमा राष्ट्रिय गान र शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

त्यसपछि सभाध्यक्षले चार दलबाट प्रतिनिधित्व गरेका चार सदस्यलाई पालैपालो बोल्न दिनुभएको थियो । अधिवेशनमा मन्तव्य व्यक्त गर्ने सदस्यले प्रदेश नं ६ आर्थिक रुपमा सबैभन्दा कमजोर भएकाले यसको समृद्धि र विकासका पक्षमा एक जुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपा (एमाले)का यामलाल कँडेलले प्रदेश सूचांकमा पछि देखिएकाले यहाँका प्रशस्त प्राकृतिक सम्पदाको सदुपयोग गरेर समृद्ध बनाउन सकिन्छ भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले प्रदेशको मागका लागि चार जनाले शहादत प्राप्त गरेको सो प्रदेशको उन्नतिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका जीवनबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले मुलुक र जनताका लागि प्रादेशिक संरचना नयाँ व्यवस्था भएकाले यसको सफलता अब जनप्रतिनिधिको काँधमा आइपुगेको छ भन्नुभयो ।

सदस्यको मन्तव्य सकिएपछि सभाध्यक्ष शाहीले प्रदेश सभामुखको निर्वाचनको मिति यही माघ २९ गतेलाई प्रस्ताव गर्नु भएपछि सर्वसम्मतिबाट पारित गरिएको थियो । बैठकको अन्त्यमा सभामुख शाहीले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्न प्रस्ताव राखेपछि त्यो पनि सर्वसम्मतबाट पारित भएको थियो । अर्को बैठक यही माघ २९ गते अपराह्न १ बज बस्नेछ ।

प्रदेश नं ६ को आजको पहिलो ऐतिहासिक बैठक सुर्खेत वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभाकक्षमा सञ्चालन गरिएको थियो । बैठक ३७ मिनेटसम्म सञ्चालन भएको थियो । कक्ष सानो भएकाले सबै पत्रकारलाई भित्र प्रवेश दिइएन । धेरै पत्रकारले बाहिर टिभी हेरेर अधिवेशनको रिपोर्टिङ गरेका थिए ।

कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र सुर्खेत गरी १० जिल्ला प्रदेश नं ६ मा छन् । यो प्रदेशसभामा एमालेबाट २०, माओवादी केन्द्रबाट १३, काँग्रेसबाट छ र राप्रपाबाट एक गरी ४० सदस्य हुनुहुन्छ ।

प्रदेश नं को चुनौतीलाई सम्भावनामा बदल्ने संकल्प

प्रदेश नं ६ लाई समृद्ध बनाएर छाड्ने यस प्रदेशका सांसदहरुले संकल्प गरेका छन् । अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय सिँचाइ विकास निर्देशनालयमा आज सम्पन्न बैठकमा सहभागी प्रदेश सांसदले प्रकृतिप्रदत्त स्रोत साधन प्रचूर मात्रामा भए पनि त्यसलाई उपयोगमा ल्याउन नसकेका कारण ६ नं प्रदेश पछि परेको बताए ।

समग्र प्रदेशको समृद्धिका लागि सबै सांसदहरु एक हुनपर्नेमा उनीहरुको जोड थियो । पहिलो ऐतिहासिक प्रदेशसभाको बैठकमा सहभागी हुँदा गौरवान्वित भएको सांसदहरुले बताएका छन् । उनीहरुले १२ लाख जनसङ्ख्या भएको यस प्रदेशमा उपलब्ध जल, जंगल, जमीन, जडीबुटी, खनिज र खानीबाटै समृद्धि खोजिने बताए । उनीहरुले ६ नं प्रदेशको चुनौतीलाई सम्भावनामा बदल्ने संकल्प गरेका छन् ।

कालीकोटका सांसद सोशिला शाहीले पृथ्वीनारायण शाहको योगदानबाट निर्मित देशको स्वाभीमान रक्षा गर्न र यस प्रदेशलाई विकसित प्रदेश बनाउन आफू निरन्तर लागिपर्ने संकल्प गर्नुभयो ।

सुर्खेतका सांसद यामलाल कँडेलले ६ नं प्रदेशको समृद्धि र विकासका लागि सबै सांसदले स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

जुम्लाका सांसद नरेश भण्डारीले ६ नं प्रदेशलाई दुई दशकभित्र सम्पन्न बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हुम्लाका सांसद जीवनबहादुर शाहीले प्रदेश धनी तर यहाँका नागरिक गरिब भएको बताउनुभयो । कालीकोटका सांसद महेन्द्र शाहीले आफ्नै कमजोरीका कारण ६ नं प्रदेश पछि परेको तर्क गर्नुभयो । रुकुमका सांसद रातो कामीले प्रदेशको समृद्धि तथा सुखी जनताका लागि भाषण नभई काम गरेर देखाउने र यसका लागि जनताले आफूलाई चुनेर पठाएको बताउनुभयो ।

प्रदेश को पहिलो बैठक – समृद्धिका लागि एकजुट भएर लाग्ने सांसदहरुको प्रतिवद्धता

धनगढी, २१ माघ – प्रदेश नं ७ को धनगढीमा आज बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले यो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

वक्ताहरुले प्रदेश नं ७ (सुदूरपश्चिम) मा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको उक्त बैठकका पहिलो वक्ता बाजुराबाट निर्वाचित सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिनुभयो ।

“राजनीतिभन्दा माथि उठेर प्रदेशको विकासमा लाग्यौं भने हामी सबैभन्दा धनी प्रदेशका नागरिक बन्न सक्छौं,” शाहले भन्नुभयो – “समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहारमा परिर्वतन गर्न जरुरी छ ।”

जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उहाँको भनाइ थियो ।

डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिनुभयो । “प्रदेशको समृद्धि कसरी हासिल गर्ने भन्नेतर्फ सबै अन्तरआत्माबाट लाग्नु आवश्यक छ,” खड्काले भन्नुभयो – “राज्यको पहुँचबाट ढाटा रहेको हाम्रो प्रदेशमा प्रशस्त सम्भावना छन् ।”

पश्चिम सेती परियोजना अगाडि बढाउन प्रदेशसभाबाट प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “यहाँको सुकुम्बासी समस्या समाधान, धनगढी विमानस्थलको स्तरोन्नति लगायतका विकासका मुद्दालाई मूर्त रुप दिन लाग्नुपर्छ ।”

डोटीबाटै निर्वाचित अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताउनुभयो । यस प्रदेशमा कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत्का परियोजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – “वैज्ञानिक कृषि प्रणालीमार्फत किसानका लागि गर्व गर्ने नीति ल्याउन जरुरी छ ।” शिक्षाको उचित व्यवस्थापनका लागि उचित नीति र साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टीका सांसद मालामती राना थारुले राना थारु समुदायको संविधानमा असन्तुष्टि रहेकाले संशोधनका लागि पहल हुनुपर्ने बताउनुभयो ।

“कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई वारिसनामा मार्फत विजयको प्रमाणपत्र बुझाउने व्यवस्था गरियोस्,” उहाँले भन्नुभयो – “टीकापुर घटनामा सरकारद्वारा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्छु ।” उहाँले टीकापुर घटनाका बेला थारु समुदायमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गर्नुभयो ।

बैठकको शुरुमा सभामुखको भुमिकामा रहनुभएका ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । दिउँसो १ बजे डाकिएको बैठक आधा घण्टा ढिलो शुरु भएको थियो ।

सभामुखको निर्वाचन माघ २७ मा 

बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई पारित गरयो ।

कार्यविधि अनुरुप प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २९ दिउँसो १ बजे तोकिएको जानकारी पनि शाहले गराउनुभयो ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँच सदस्य मनोनयन गरिएको छ । मनोनीत हुने सदस्यहरुमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, कृष्णबहादुर चौधरी र पुर्णा जोशी हुनुहुन्छ । प्रदेशसभाको अर्को बैठक आगामी माघ २९ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री