निर्वाचित राष्ट्रियसभा सदस्यहरु को कहांबाट ?

प्रमाणपत्र लिएपछि बिहीबार दाङमा प्रदेश नम्बर ५ बाट राष्ट्रियसभामा निर्वाचित सदस्यहरु । तस्वीर – नारायणी रजौरे, दाङ, रासस

विराटनगर, २५ माघ – प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो ।

सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ (संखुवासभा), अगम वान्तवा राई (इलाम), बिना पोखरेल (मोरङ) र रमेशजंग रायमाझी (मोरङ) लाई प्रमाणपत्र वितरण गरियो ।
नेपाली काँग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं (झापा) विदेश भ्रमणमा रहनुभएकाले अनुपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पुरयाउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तीन नम्बर प्रदेशमा वाम गठबन्धनका छ र काँग्रेसका दुईजना विजयी

काठमाडौँ, २४ माघ – राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो ।

उहाँको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी हुनुभएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी हुनुभएको छ । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी हुनुभयो । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

राष्ट्रियसभा सदस्यको मत परिणाम सार्वजनिक

पोखरा, २४ माघ – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित हुनुभएको छ भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी हुनुभएको छ ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

सुर्खेत, २५ माघ – बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् । त्यस्तै, दलिततर्फ नरपति लुहारले तीन हजार ६६६ र अपाङ्ग-अल्पसंङ्ख्यकतर्फ जीवनबहादुर बुढाले तीन हजार ७२० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री