काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ ।
आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे शुक्रबार औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।
उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो ।
उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली कांग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला र अर्को एक दलका एकजना निर्वाचित भएका छन् ।
राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुईजना उम्मेदवार निर्वाचित भएका छन् ।
मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जनालाई भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।