काठमाडौँ- एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी शुक्रबार नेपाल ल्याइएको छ ।
विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो ।
घटनापछि फरार रहेका गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले गत मंसिर १२ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो ।
सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङ नेपाल प्रहरीलाई बुझाएपछि भारतबाट नेपाल प्रहरीले उनलाई शुक्रबार नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।