विराटनगर- एमाले पोलिटब्यूरो सदस्य शेरधन राई प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । शुक्रबार एमाले प्रदेश नं १ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा राई विजयी भएसँगै उनी मुख्यमन्त्री हुने बाटो खुलेको हो ।
यसअघि मन्त्री समेत भइसकेका राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।
विटारनगरमा रहेको जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा भएको निर्वाचनमा राईले २६ र उनका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गरेका थिए ।
एक मत बदर भएको छ । प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
सोही अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान गरयो ।
विजयी भएपछि नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आफू पार्टीको कार्यमा जुट्ने बताए ।
प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।