सगरमाथा मापनले गति लियो, प्राविधिक टोली सिरहा

फाइल तस्विर

काठमाडौँ, २७ माघ – सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ ।

सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो ।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि जाने जानकारी दिँदै बाँकी प्राविधिक माघ २९ गतेसम्म मदार पुग्ने बताउनुभयो ।

मदारसम्मको लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागले जनाएको छ ।

यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ ।

संयोजक डंगोलले भन्नुभयो, ‘टोली आज काठमाडौँबाट हिँडेको छ, सम्भवतः भोलिबाटै काम शुरु हुन्छ ।’

ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङ्मा असर पुगेको-नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री