करिब ६-७ महिनाअघि । कहिले हो कुन्नि ? फेसबुके भित्तोमा पुस्तक विमोचनका फोटाहरु निकै टाँस्सिएको देखेकी थिएँ । खास याद गरिएन । फिक्सन बुकहरुबाट अचेल आफूलाई अलि टाढा राख्दैछु । तर अचानक गत हप्ता मेरो सहकर्मीले बुक ल्याएर हातैमा थमाइ दिइन् र सोधिन् ‘तिमीले यो बुक पढ्यौँ मनु ?’ लेखक हेम प्रभासको ‘उल्झन’ ।
मैले नाम त राम्रो याद गरेकी थिइनँ । के को पढ्नु ? मैले ‘छैन’ को मुन्टो हल्लाएपछि आग्रह गरिन्, ‘पढ है ।’ नपढेको बुक हातैमा ल्याएर दिँदै यतिका आग्रह गरेपछि नाइ भन्ने कुरै भएन । तर, बुकको कभरलाइन देख्ने बित्तिकै हामी रहेको माहोल एकैक्षणलाई निकै रमाइलो बन्यो । खासमा हामी अफिसमै थियौं, साथीले मलाई बुक ल्याइदिने वा ल्याइदिएको बारे अगाडि केही भनेकी थिइनन् । ५ बजे अफिस सकेर उनी निस्कनै लाग्दा मेरो डेस्कमा ल्याएर बुक दिइन् । म आफ्नै काममा ब्यस्त थिएँ । हामी सबैजना आ–आफ्नै तौरतरिकाको उल्झाइमा बाँचिरहेका । केही सहकर्मीहरु निस्किसकेका थिए । केही निस्कने तरखरमा । मेरो डेस्कमा बुक देखेर अर्को एकजना निस्कनै लागेका सहकर्मीले बुक उठाएर हेरे र ठट्टा गर्दै भने, ‘अहो…. जिन्दगी उसै त यस्तो उल्झेको बेला, यस्तो यस्तो बुक हेर्न थालेपछि झन् के होला ।’ हामी सबै जना ठट्टा गर्दै हाँस्यौ ।
उपन्यास थुप्रै थुप्रै कथाहरुका उल्झन हुन् । छोटा छोटा सरल वाक्य र सरस वाक्याँशले कति पनि पट्यार लाग्दैन । पढ्नमा भन्दाभन्दै रन्थनाउँछ अन्त्यतिर पुग्दा । पढिरहँदा उल्झन भित्र रहेका विविध उल्झाइहरु आफ्नै जस्तो लाग्छ । धेरै कथाहरु छन्, ती कथाहरुले विविध व्यथाहरु बोकेका छन् । त्यही ब्यथाले पीडाहरु जन्माएका छन् र त्यही पीडा ब्यथासहितका संघर्ष र चुनौतीमय जीवनमा आशाहरु पनि जन्माएका छन् । उल्झनभित्र व्यक्ति छ, परिवार छ, समाज अनि परिधि भित्रको सामाजिक परिवेश । द्वन्द्व, रिस, राग, द्वेष, मोह अनि माया छ । साथीहरु छन्, साथै मायालुहरु पनि छन् । लेखकले सबै खाले पाठकलाई ‘टार्गेट’ गरेका छन् । समसामयिक कथालाई पनि घुसाएका छन् । गाउंले परिवेश छ, सहरिया परिवेश अँग्रेजी मिसाएर बोल्ने ग्रुपदेखि खाँटी नेपाली लवजसम्म । उपन्यासको सुरुवाती कथाहरु निलगिरी गाउं भए पनि मध्यभाग पुगेपछि पूरै काठमाडौँ र भक्तपुरको सहरिया क्लाइमेक्समा छिरेको छ र अन्त्यतिर भारतसम्म पुरयाइ दिन्छ ।
उल्झनको सुरुवातबाट नै मलाई थुप्रै पटक आफ्नो बाल्यकालका दिनहरुमा फर्काएर लग्यो । सँयोग नै हो, कथा भित्रका कतिपय पात्रहरुमा म आफैँ बोलिरहेछु जस्तै लाग्यो । त्यो वचपन अनि बालसुलभ, हामी पनि स्कुलमा पुरस्कार नपाउँदा कति पटक न्यास्रो मान्दै घर फर्किन्थ्यौं । साथीहरुको निधारमा लागेका अबिरलाई तिनै पात्रले झैँ गाला मुसारेर आफ्नोमा लगाएर घर गइ मैले नि जितेँ भनुँ झैँ लाग्थ्यो । हामी पनि उसैगरी आमालाई पिर्दथ्यौं र पैसा झार्दथ्यौं । अझ नपुगेर कहिलेकाहीँ थाहा नपाइकन बाबाको कोटको भित्री गोजीमा लुकेर बसेका नोटहरुमध्ये राता नोटहरुलाई सुटुक्क झिकेर स्कुलमा साथीहरुलाई देखाउँदै रातो डल्लो चकलेट किन्दै खान्थ्यौँ ।
साथीहरुसँग उसैगरी बेहुलाबेहुली खेल खेल्थ्यौँ, माथिल्लो घरको मजिन बेहुला, पल्लो घरको काली बेहुली, डाडागाँउकी साबी बेहुलीको साथी, म चाँही बेहुलीको आमा, माथि सिरानघरे पदम बेहुलीको बाउ भएर खुबै खेल्थ्यौँ गोठालो जाँदा । मालती दिदीको विवाहले आफ्नै दिदीको विवाहको सम्झना दिलायो । मेरी दिदी पनि उसैगरी भक्कानिएर रोएर अन्मिएकी थिइन् डोली चढेर जसरी मालती दिदी अन्मिएर गइन् उपन्यासमा । रातभरिको जग्गेका उसैगरी घुमिन् रातो झिल्झिले साडीमा बेरिएर जसरी मालती बेहुली बनेकी थिइन् । उनीले जसरी भोगिन् झन्डै उस्तै दुःख भोगिन् जीवन जिउने क्रममा । मेरी दिदीकी सासुले विवाह गरेर गएपश्चात् दुःख दिनसम्म दिन्थिन् र भन्थिन्, ‘चामल भए निफनिएर बस्छे, भूस भए उडेर जान्छे ।’ ‘छोरीको जातले घर गरेर खान पर्च (पर्छ), के गर्छेस् त तेरो कर्मै त्यस्तो । कुल घराना हेरेर दिएका हम् (हौँ), घर खान परो नी आफूले’, मेरी आमाले पनि उसैगरी सम्झाइन दिदीलाई । त्यही भएर होला दिदी चामल नै निक्लि, नाता नातिका हजुर आमा बनिन् अहिले, जति दुःख परे पनि सहेर घर गरेर खाइन्, कर्मै यस्तो रहेछ भनी भनी ।
लाहुरबाट उसैगरी चिठी आउँथे मेरो घरमा पनि जसरी उपन्यासमा आउँथे । आफू पनि लाहुरेकी बहिनी भएकीले होला, लाहुरे दाइले लेखेको चिठी मलाई नै लेखेको जस्तो भान भयो ।
‘…..लडाइमा खटाएको छ । लडाइमा होमिएपछि दुइटा मात्र बिकल्प हुने रहेछन्—कि मार्ने कि त मर्ने । ….. आमाले मेरो बारेमा कुनै पनि पीर चिन्ता नलिनू, उसै त तपाईको शरीर कमजोर छ । त्यसमाथि सुर्ता थपियो भने के हुन्छ ?… लेख्दा लेख्दै चिठी त लामै भयो क्यारे, बहिनीलाइ पढ्न झिजरो लाग्ला । के गर्नु नानी, घर गृहस्थी भएपछि सबै कुराको विचार गर्नुपर्छ । अब त तिमी पनि बुझ्ने भयौ होली । आमा पनि सुस्ताउनु भयो होला चिठी सुन्दा सुन्दै । रुनुभयो कि क्या हो । नरुनु है आमा, तपाई रुनु भयो भने त्यो आँशुले मेरो अगाडि बढ्ने बाटो छेक्छ ।’
आफूले नलेखे पनि म र मेरा दाइहरु पनि कुनै समयमा गीतिकथा खुब सुन्थ्यौ, जसरी चित्र थापाले सुने, सायद दाइहरुले त लेख्नु पनि भयो होला । आफ्ना प्रेम कथा, गीतिकथा मार्फत । कथाहरु बग्दाबग्दै बाल्यकालबाट युवा अवस्थामा पुग्छ, बालसुलभदेखि युवापुस्ता । समाज र सामाजिक चालचलन । माओवादी द्वन्द्व, त्यसपछिका प्रेम कहानीहरु ।
कथामा प्रयोग गरिएका कतिपय भाषिका, लवजहरु बाग्लुङ्ग, पर्वतका गाउँघरतिर बोलिने जस्तै छन्, “यस्ता जाबो काँक्रो त हाम्रो घराँ कति छ कति । म सित्तिमा दिन्चु, आओ मेरो जार जाम्, तपैलाई कति मुन लाग्च(पृ.१६) हे ईश्वर, भगमान, मलाई काल किन नआ हो (पृ.१८) । तेरो भाँगा दई र केरा, तेरो भागाँ नि छ (पृ.२५) हाम्रो दिदी आउनुभाछ रे घरमा, आओ जाम् खानीकुरो खानी भए, दिदीले खानेकुरा ल्या हुन सक्च (पृ.२६) । तिम्लाइ अङ्ग्रेजी राम्रै आम्दो रच, उसले मुस्कुराउदै सोध्यो, कति किलासमा पढ्छौ ? (पृ.४१) । यिनेरुका सन्तानलाई डाँडा नकटाई हुँदैन बाबै काजी बाले भने पाप र धर्मका त ख्याल गर्नु पर्च नि अलिकति (पृ.५३)
उपन्यासमा केही केही अंशहरु धेरै लामो छ भने कुनै कुनै बेपत्ता भएर अर्को क्लाइमेक्स कुर्नु धेरै पट्यारलाग्दो छ । जस्तै रेखाले गीतिकथा सुनि कि सुनिनँ भन्ने कुरा अलपत्रै छोडिँदा छोडिँदा बल्ल अन्त्यमा रहस्य खुलाउँछ । पुस्तकमा महिला पात्रहरु प्राय सबै मरेका छन्, पात्र रजनी लगायतका केहीलाई थोरै अंश ठाउँ दिइए तापनि महिलाहरु कुनै पनि काममा अलि बलियो भएर अगाडि नल्याइएकाले हाम्रो सोच अझै पनि महिलाहरु कमजोर नै छन् भन्ने हो कि भन्ने पनि भान हुन्छ । साथै म पात्रका वरिपरि पुरुष पात्रहरुको मात्र धेरै कुराहरु आएकाले लेखकले अलि महिलाको मनोभावनालाई छुन नसकेको स्पष्ट देखिन्छ । केही केही पात्रहरुले कुन कुराहरुलाई के इंगित गर्दैछ भन्नेमा पनि प्रस्ट छैन । जस्तै कथामा पात्रहरु धेरैपटक आत्महत्या गर्न खोज्छन् तै पनि गर्न सक्दैनन्, त्यस्तो धेरै आत्महत्या नै गर्ने पात्रहरु नजन्माएको भए पनि हुने ।
पुस्तकले खासगरी युवा वर्गलाई लक्षित गरिएको त देखिन्छ, यसमा गाउँको परिवेशसँग जोडेर प्रेम कहानीहरुलाई धेरै नै पाना खर्चिएका छन्, तर अझ यो उपन्यासमा एक-दुई जना पात्रको मात्र कथालाई जोडेर बुनेको भए अझ उत्कृष्ट हुने थियो । यहाँ पात्रहरु धेरै भए र गाँजेमाजे हुन पुग्यो जसले पाठकलाई शीर्षक झैँ उल्झनमा पुर्याएका छन् । २८८ पृष्ठ बाक्लो, पुस्तक तयार गर्न त्यति सजिलो छैन, यसमा लेखक स्वयंले अन्त्यमा स्विकारेका छन् कि उपन्यास लेख्नु त्यति सजिलो काम होइन । यद्यपि, प्रयास गरेर उल्झन फुकाइकन छाडेका छन् जसको कदर गर्नै पर्छ । यद्यपि पुस्तक पढ्नै पर्ने वा नपढेमा धेरै नै कुरा छुट्ने खालको त होइन तर साहित्य र लेखकको सम्मानस्वरुप एकपटक पढे रमाइलै छ । कम्तिमा हामीले नगरे युवाहरुको कामको सम्मान कसले गर्ने ?
लिपि बुक्स प्रकाशनले प्रकाशन गरेको उल्झनको पानाहरु फाइन प्रिन्टका पाना भन्दा कम छैनन् । किनेरै पढ्नुस् भन्नका लागी पुस्तकको कुनै पनि पानामा मुल्य रु. अंकित नभएको र मलाई पनि अरुले पढ भनी दिएको हुनाले मूल्य पनि उल्लेख गर्न सकिएन ।