प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री शेरधन राई मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दै । तस्बिर- मनोज दाहाल, विराटनगर, रासस
विराटनगर, ३ फागुन – प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका उहाँ २०४४ सालमा अनेरास्ववियूको सङ्गठित सदस्य हुँदै २०४९–२०५० सालमा अनेरास्ववियू, भोजपुर अध्यक्ष र २०५० र २०५३ मा केन्द्रीय सदस्य हुनुभयो ।
विसं २०४७ मा एमालेको सङ्गठित सदस्यता प्राप्त गरेपछि २०४९ मा एमाले भोजपुरका जिल्ला सदस्य, २०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य र २०५४ मा उपसचिव तथा २०५४ सालमा पार्टी विभाजन भएपछि एमालेको सभापति हुनुभएको थियो । विसं २०७० सम्म पार्टी जिल्ला सभापति रहनुभएका उहाँ २०७० साल वैशाख २७ गते वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएपछि २०७१ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
हाल उहाँ पार्टी पोलिटब्यूरो सदस्यका साथै प्रदेश नं १ को सहइन्चार्ज हुनुहुन्छ ।
विसं २०५६ को आमनिर्वाचनमा उहाँ एमालेबाट भोजपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो । उनन्तीस वर्षकै उमेरमा सांसद हुनुभएका कान्छा सांसद राई २०६२-२०६३ सालको ऐतिहासिक जनान्दोलनबाट पुनःस्थापित संसद्को सांसद हुनुभयो । उहाँ विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भई २०७१ मा व्यवस्थापिका–संसद,सुशासन तथा अनुगमन समितिका सभापति र केपी शर्मा ओलीको मन्त्रिमण्डलमा २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चारमन्त्री हुनुभयो ।
प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ
बुटवल, ३ फागुन – प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उहाँले देश र नेपाली जनताका नाममा सपथ लिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा ‘एमाले’ का वैजनाथ चौधरी ‘थारु’ लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको शहीद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।