बुद्ध जयन्ती भव्य बनाउने सल्लाहकारहरुको प्रण

लन्डन । बुद्ध फाउण्डेसन यूकेका नवनियुक्त सल्लाहकारहरुले ट्राफलगर स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती भव्य रुपमा सफल बनाउने प्रण गरेका छन् । आफ्नो स्वागतमा आइतबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा आयोजित सम्मान कार्यक्रममा सल्लाहकारहरुले बुद्ध जयन्ती फाउण्डेशनको मात्र नभइ समस्त नेपाली र नेपालको प्रतिष्ठासंग जोडिएकाले सफल बनाउने प्रतिज्ञा गरे ।

कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा डा. बच्चुकैलाश कैनीले फाउण्डेसनको उद्देश्य अन्य संस्थाको भन्दा भिन्न रहेकाले आफू प्रभावित भएको बताउंदै यसको अभियानमा सबै सल्लाहकारहरुको साथ, सहयोग रहने प्रतिवद्धता गरे ।

फाउण्डेशनका अन्य सल्लाहकारहरु विनोद ज्ञवाली, नारायण गुरुङ र राजेश पाठकले पनि ५ मेमा ट्राफलगर स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती सफल बनाउन रणनीतिक सुझाव दिएका थिए ।

कार्यक्रमको पहिलो चरणमा फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपानेले सल्लाहकारहरुलाई खादा तथा प्रमाणपत्रसहित स्वागत गरे । फाउण्डेसनमा सल्लाहकार मनोनित भएका डा. बच्चुकैलाश कैनी, राजन कंडेल, फडिन्द्र भट्टराई, विनोद ज्ञवाली, राजेश पाठक, नारायण गुरुङ, लामा धर्म गुरुङ, सहदेव गिरीलाई सम्मान र प्रमाणपत्र प्रदान गरियो । अन्य कयौं सल्लाहकार भने अनुपस्थित थिए ।

महासचिव अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष हरिश ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । अर्का उपाध्यक्ष सचिन श्रेष्ठले ‘पावर पोइन्ट प्रिजेन्टेसन’ मार्फत फाउण्डेसनले सन् २०१७ मा स्थापना भएयता गरेका कार्यहरुबारे अवगत गराए । कोषाध्यक्ष राजन खकुरेलले संस्थाको आय व्यय विवरण साथै कपिलवस्तुको बुद्ध बृद्धाश्रम निर्माणका लागि आयोजित च्यारिटीमा उठेको कोषबारे विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले फाउण्डेसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै एनआरएन यूके पनि फाउण्डेसनसंग सहकार्य गर्दै अघि बढन तयार रहेको धारणा राखे । उनले फाउण्डेसनको बृद्धाश्रममा आफ्नो पनि धेरथोर सहयोग रहेको उल्लेख गर्दै यस्ता पूण्य काममा सबैको साथ रहनुपर्नेमा जोड दिए ।

फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले सबैको शुभेच्छा र सहयोगका कारण संस्था स्थापनाको छोटो समयमा नै यो स्थानसम्म आइपुग्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले कपिलवस्तुमा फाउण्डेसनले एक करोड २५ लाख रुपैयांमा १४ कोठे बुद्ध वृद्धाश्रम निर्माण शुरु भएको जानकारी दिंदै यस प्रोजेक्टलाई सफल बनाउन सबैको साथ अपेक्षा गरेका थिए । ‘शुरुमा ८० लाख अनुमान गरिएकामा अहिले बजेट बढेको छ । ४० लाख रुपैयां पठाइसक्यौं । अरु थप रकम अति खांचो भएकाले सबैलाई सहयोग गरिदिन हाम्रो अनुरोध छ’, श्रेष्ठले भने । श्रेष्ठले ट्राफलगर स्क्वायरमा गर्न लागिएको बुद्ध जयन्ती फाउण्डेशनको मात्र नभएकाले सबैले आर्थिक, भौतिक र वैचारिक सहयोग गरेर यस कार्यक्रम सफल बनाउन पनि आग्रह गरे ।

कार्यक्रमको दोस्रो चरणमा सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुबीच अन्तरक्रिया गरिएको थियो । त्यस क्रममा आउंदो मे ५ मा लण्डनको ट्राफलगर स्क्वायरमा फाउण्डेसनले आयोजना गर्न लागेको बुद्धजयन्ती कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमका संयोजक सूर्य गुरुङले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत कार्यक्रमका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए । सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरुले कार्यक्रम सम्बन्धमा आफना सल्लाह-सुझावहरु दिएका थिए ।

कार्यक्रममा सुरेन रुपाखेती, धनराज मल्ल, हयारी गुरुङ, महेन्द्रविक्रम कुंवर, जीवन सेन, अभि महर्जन, निरञ्जन खड्का, सिम्मी पुन लगायतका फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री