बेलायत हिउंले सेताम्मे, जनजीवन अस्तव्यस्त

लन्डन । चार दिन यता निरन्तर परिरहेको भारी हिमपातका कारण बेलायतको जनजीवन अस्तव्यस्त भएको छ । हजारौं स्कुल तथा अस्पताल बन्द भएका छन् । हवाइ तथा सडक यातायात र रेल सेवा पनि नराम्ररी प्रभावित भएको बीबीसीले जनाएको छ । हिमपात जारी रहंदा पूर्वबाट आएको ९० माइल प्रति घण्टाको डरलाग्दो आंधी ‘इम्मा’ कारण मौसम ज्यादै प्रतिकुल भएपछि यूके मेट अफिसले दक्षिण पश्चिम इंग्ल्याण्ड र साउथ वेल्समा उच्च तहको खतरा ‘रातो’ संकेत दिंदै सावधानी अपनाउन अपिल गरेको छ ।

सन् २०११ उक्त प्रणाली लागू भएयता मेट अफिसले तेश्रो पटक ‘रेड अलर्ट’ जारी गरेको हो । यस्तो संकेतमा विध्वंश, यातायात तथा बिजुली अवरुद्ध र जीवननै जोखिममा हुन सक्ने मानिन्छ ।

‘बिस्ट फ्रम द इष्ट’ उपनाम दिइएको प्रतिकुल मौसम र हिमपातपछि चिसिंदो मौसमले हजारौं मोटर राजमार्गमा अलपत्र परेका छन् । बिहीबार राती सवारी नहांक्न गरिएको आग्रह वेवास्ता गर्ने हजारौं चालकहरु कठयांग्रिदो चिसोमा अलपत्र परेका बताइएको छ । अलपत्र परेका चालकहरुको उद्दारका लागि सेना नै परिचालन गर्नुपरेको थियो ।

नेशनल रेलले दक्षिण पूर्वी, उत्तर पश्चिम र दक्षिण पश्चिम इंग्ल्याण्ड तथा स्कटल्याण्डमा रेल सेवा अवरुद्ध भएको जनाएको छ । बेलायतभर २० भन्दा बढि रेल अपरेटरहरुले रेल सेवा न्यून चलिरहेको बताएका छन् । अति व्यस्त लन्डन पेडिङटन रेल स्टेशन झण्डै तीन घण्टा बन्द भएको र केन्टमा ५० वटा स्टेशन बन्द गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।

प्रतिकुल मौसमका कारण ब्रिटेनभरका विमानस्थलबाट उड्ने आन्तरिक तथा बाहय उडान समेत प्रभावित भएका बताइएको छ । शुक्रबार यूके र आइरिसस्थित विमानस्थलबाट १२५० उडान रद्द भए ।

मेट अफिसले कतिपय भागमा ५० सेन्टिमिटर (२० इञ्च) सम्म हिउं परेको जनाएको छ । आपतकालिन सेवाका कर्मचारीहरुले हिउं सफा गर्न संघर्ष गरिरहेका छन् । मौसदवीदहरुले यस्तो मौसम कतिपय ठाउंमा आगामी सातासम्म रहन सक्ने चेतावनी दिएका छन् ।

खराब मौसमका कारण केही मानिसको ज्यान समेत गएको छ । हिउंमा चिप्लिएर कार घरमा ठोक्किंदा कर्नवालमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ । लिड्समा ७५ वर्षीया वृद्धा हिउंले ढाकिएको सडकमा मृत फेला परेकी छन् भने हयाम्पसायरमा भ्यान र लरी आपसमा ठोक्किंदा ४६ वर्षीय भ्यान चालकको निधन भएको अखबारहरुले उल्लेख गरेका छन् । साउथ इष्ट लन्डनस्थित डेन्सन पार्कको पानीबाट उद्दार गरिएका ६० वर्षीय स्टेफेन क्याभानाघको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । म्यानचेस्टरको ब्ल्याकलेमा रुख भांचिदा दुई किशोर घाइते भएपछि अस्पताल लगिएको छ ।

हिउंका कारण बिजुली गएपछि इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रका करिब ५ हजार घर अन्धकारमय बनेका छन् । हिउं र तेज गतिको आंधीका कारण मर्मतमा समेत कठिनाइ भएको इलेक्ट्रीसिटी नर्थ वेष्टले जनाएको छ ।

नेशनल ग्रीडले ग्यांस समेत अभाव हुने चेतावनी दिएको छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री