च्यारिटीको तयारीमा मिसेस नेपाल यूके २०१७ टिम

लन्डन । ‘मिसेस नेपाल यूके २०१७ टिम’ लन्डनमा एउटा च्यारिटी डिनरको तयारीमा जुटेको छ । टिमले भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आगामी ११ मार्च सांझ च्यारिटी डिनर गर्न लागेको हो । शुक्रबार सांझ मिसेस नेपाल यूके २०१७ टिम कार्यक्रमको तयारीबारे अवगत गराउन सञ्चारकर्मीमाझ प्रस्तुत भए ।

पत्रकार सम्मेलनमा आयोजकले साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा च्यारिटी गर्न लागिएको जानकारी दिए । अन्य च्यारिटी भन्दा पृथक बनाउने उनीहरुको योजना छ । नाटक, सांस्कृतिक कार्यक्रम र डिनरसहित हुने उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीलगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजकले आफूहरुको निस्वार्थ सामाजिक कामका लागि चन्दा तथा प्रायोजन गरि सहयोग गरिदिन अपिल गरेका छन् । मिसेस नेपाल यूके २०१७ विजेताले आफूहरुमा समेत सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै जोखिममा बांचिरहेका बालबालिकाकालाई सहयोग गर्न च्यारिटी गर्ने सोच बनाइएको प्रष्टयाए ।

पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले संघ र आफ्नो व्यक्तिगत तर्फबाट च्यारिटीलाई आर्थिक सहयोग हुने आश्वासन दिए ।

कार्यक्रममा मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठसहित आयोजकका तर्फबाट आस्था जोशी, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठ सहभागी थिए । उनीहरुले पत्रकारहरुको जिज्ञासा मेटाउंदै सामूहिक स्वरमा च्यारिटी डिनर सफल बनाइदिन अपिल गरे ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री