प्रतिभा नक्षत्रलाई आर्थिक सहयोग जुटाउन च्यारिटी


लन्डन । बेलायतस्थित नवप्रतिभाहरुको खोजी गर्ने एउटा प्रतियोगिता प्रतिभा नक्षत्रलाई आर्थिक सहयोग जुटाउन गत शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरिएको छ । नाटक मञ्चन, सांस्कृतिक प्रस्तुति र टपरी दुनामा अतिथीहरुलाई रात्रीभोज ख्वाएर आयोजकले कार्यक्रम गरे । कार्यक्रम स्थलमा नेपालको मौलिकता, संस्कृति झल्कने नेपाल घर, वास्तुकला तथा विभिन्न नेपाली 
परिकार प्रदर्शनी गरिएको थियो ।

प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षता र 
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमबाट करिब दुई हजार पाउन्ड संकलन भएको जनाउंदै आयोजकले अन्तिम हिसाब आउन बांकी रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा स्थानीय तथा बेलायतको नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।

संस्थाका महासचिव लछुमन गुरुङले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका संरक्षक मनिष कुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले प्रतिभा नक्षत्रको अवधारणाबारे जानकारी दिए ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम बाबु राना तथा मन्जु भट्टले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रतिभा नक्षत्रले गरेका गतिविधि समेटिएको एक भिडियो प्रदर्शन साथै सुनिता गौतम र विकेशराज बस्नेतद्वारा निर्देशित नाटक समेत प्रदर्शन गरियो । नाटकले सबै नेपालीबीच आपसी सद्भाव र एकतामा जोड दिएको थियो ।

कार्यक्रममा विभिन्न नृत्य, गीत, बांसुरी, मादल र 
हार्मोनियमको धुनले थप रौनकता दियो । स साना बालबालिकाले आफैं बजाएर गायत्री मन्त्र वाचन गरे भने भूमी ब्यान्डले लाइभ प्रस्तुति दिएको थियो ।

आगामी अगष्टमा गर्ने तयारी गरिएको प्रतिभा नक्षत्रको खास उद्देश्य बेलायतमा रहेका बालबालिका र युवाहरुमा लुकेर रहेको प्रतिभा उजागर तथा विभिन्न मौलिक नेपाली कला संस्कृति, जातजातिको भेषभुषा, साहित्य, भाषा आदिलाई एकै थलोमा प्रस्तुत गर्ने रहेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री