अनेरास्ववियूकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी छन् । ३३ वर्षकै उमेरमा सम्भवतः विद्यार्थी संगठनको अध्यक्षका रुपमा सांसद हुने पहिलो सौभाग्यशाली बनेकी उनी संसदमा पनि शिक्षा र युवा सम्बन्धि विषय आफ्नो प्राथमिकतामा पर्ने बताउंछिन् । नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएपछि लामासंग वीनेपालीले उनको संसदमा भूमिका, शिक्षा, युवा बेरोजगारीलगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानी-
विद्यार्थी अध्यक्ष नै भएका बेला संसद प्रवेश गर्ने सम्भवतः तपाई पहिलो भाग्यमानी हो । कस्तो अनुभव भइरहेको छ ?
उमेर युवा छ, विद्यार्थी राजनीतिबाट आएको हुनाले मान्छेले मलाई भाग्यमानी भनेका हुन् । म अनेरास्ववियूमै लागेको नै १९ वर्ष भइसक्यो । मैले राजनीतिमा पाइला टेकेको २०५२ सालबाट हो । म राजनीतिक क्रियाकलापमा कक्षा ६ देखि सहभागी भएकी हुं । लामो निरन्तरता, आन्दोलनप्रतिको इमान्दारिता, जुझारुपन र नेतृत्वदायी भूमिकाका कारण यो अवसर प्राप्त भएको हो । पार्टी पोलिटिक्समा नभएपछि देशकै सबैभन्दा ठूलो विद्यार्थी संगठनको अध्यक्ष भएका कारण त्यो पदको सम्मानका रुपमा पनि पार्टीले मलाई यो पदका लागि योग्य ठानेको होला । भनिन्छ, परिश्रमको फल मिठो हुन्छ । लामो अविरल संघर्षको मिठो फलका रुपमा म यो जिम्मेवारीलाई लिन्छु ।
के यो समग्र विद्यार्थी आन्दोलनको सम्मान पनि हो ?
म ब्यक्तिभन्दा पनि सिंगो अनेरास्ववियूको अध्यक्ष हुं । यो अनेरास्ववियूको लामो विरासत, राष्ट्रियता, जनजीविका, शैक्षिक आन्दोलनमा खेलेको भूमिकालाई पार्टीले सम्मान गरेको हो । त्यसको सम्मानका रुपमा अखिलको अध्यक्षका रुपमा मलाई प्रतिनिधिसभा सदस्य बनायो । त्यसकारण अनेरास्ववियूसंग आवद्ध १० लाखभन्दा बढी विद्यार्थीले यो गर्व गर्ने विषय पनि हो ।
तपाईले युवा तथा विद्यार्थी नेतृका रुपमा संसदमा कस्तो भूमिका निभाउनुहुन्छ ?
जुनसुकै सरकार हुंदा पनि हामीले सडकमा विद्यार्थी र जनताका आवाज लिएर प्रतिपक्षी भूमिका खेल्यौं । राष्ट्रियताका पक्षमा पनि हामीले निरन्तर खबरदारी गर्दै आयौं । स्वभाविक रुपमा अब सदनमा बसेर पनि त्यो आन्दोलनको आवाजलाई निरन्तरता दिनेछु । पोलिसी लेभलमा दबाब दिने र त्यहां नेतृत्व लिन अग्रसरता देखाउने अवसरमा अगाडि सर्नेछु । त्यसमा आफूले सक्ने जनताका हकहितका कुरामा प्रभावकारी भूमिका निभाउनेछु ।
नेपाली युवाहरु बेरोजगारी समस्यासंग जुधिरहेका छन् । युवा कस्ता सवालहरु सदनमा उठाउनुहुन्छ ?
हामीले यसअघि सर्टिफिकेट राखेर विद्यार्थीले लोन लिने ब्यवस्थाको आवाज उठाएका थियौं । त्यसको काम अगाडि पनि बढिसकेको हो । त्यसको कार्यन्वयन तह फितलो छ, त्यसलाई प्रभावकारी कार्यन्वयनमा जोड दिनेछु । केन्द्रीय सरकारको नीतिमै यो विषय आइसकेकाले अब प्रदेश र स्थानीय सरकारले त्यसको कार्यन्वयन गर्ने हो । अब त्यसको कार्यन्वयनका लागि मेरो मुख्य दबाब रहन्छ ।
पछिल्लो समय नेपालको विश्वविद्यालय शिक्षा पनि समस्याग्रस्त छ । त्यसको सुधारको दिशामा तपाईको कदमहरु के हुन्छन् ?
विश्वविद्यालयभित्रका बेथितीहरु, त्यहांका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया, शिक्षामा भएको ब्यापारीकरण मुख्य चुनौतीका रुपमा देखिएका छन् । नयां नेपाल निर्माणमा क्रममा यी समस्याहरु कठिन समस्याका रुपमा देखिन्छन् । त्यो सबै सुधारका लागि हामी सबै जिम्मेवार बन्न जरुरी भइसकेको छ । संविधानले नै शिक्षालाई मौलिक हकसँग जोडेकाले स्कुल एजुकेसन अनिवार्य र निशुल्क भनिएको छ, तर त्यसको कार्यान्वयन नै छैन् । विश्वविद्यालय शिक्षा र चिकित्सा शिक्षामा पनि उतिकै बेथितीहरु छन् । ठूल ठूला दलालहरुको चलखेल छ । शिक्षा नीति नै अधुरो अवस्थामा छ, त्यसैले यसलाई चाडो टुंगो लगाउने र समस्याहरु न्यूनीकरणका लागि काम गर्नेतिर पनि म जोड दिन्छु । अहिले ८ लाखभन्दा बढी लाइसेन्स प्राप्त शिक्षकहरु सडकमा छन् । चरम लापरवाही र गैरजिम्मेवारपूर्ण निकायलाई सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ । शिक्षाका लगानीकर्ता, सरोकारवालाहरु जिम्मेवारी बन्नुपर्छ । संसद र सरकारले त्यसको मनिटरिङ गर्नुपर्छ । सरकारले गुणस्तर र लगानी पनि शिक्षामा बढाउनुपर्छ । शैक्षिक बेरोजगारीलाई न्युनीकरण गर्दै नयां नेपालको दिशा कोर्ने शिक्षा नीति तय गरिनुपर्छ । गुणस्तरीय, सर्वसुलभ र सबैको पहुंचमा शिक्षाका लागि संसदमा पनि म भूमिका खेल्छु । काम गर्ने सेक्टर पनि यसैतर्फ रोज्नुपर्छ भन्ने कुरा मैले सोचिरहेकी छु ।
युवाका कुन विषय बढी महत्वपूर्ण छन् ?
अहिले नेपाली युवाको मुख्य समस्या भनेको बेरोजगारी हो । अहिले घरघरबाट युवाहरु रोजगारीको खोजीमा विदेश गएका छन्, गाउंमा युवाहरु भेटिदैनन् । आर्थिक समस्या र रोजगारी अभावका कारण युवाहरु विदेशिन बाध्य भएका हुन् । विदेशिने युवाहरु पनि वर्ग विभाजित भएर विदेशिएका छन् । हुनेखाने र सम्पन्न परिवारका युवाहरु पहिलो विश्वका समृद्ध देशहरु अमेरिका, जापान, बेलायत, अष्ट्रेलियालगायतका ठाउँमा पुगेका छन् । नहुनेहरु मलेसिया, दुबई, कतार, साउदीजस्ता देशहरुमा जानुपर्ने वाध्यता छ । यो सबै बेरोजगारीका कारणले हो, यो सबै रोक्नका लागि प्रमाणपत्रका आधारमा शैक्षिक लोक दिने, कृषि उद्योग, पर्यटन र उर्जाको विकासजस्ता पक्षहरुलाई विकास गर्नुपर्छ । त्यसका लागि तीब्रतर विकास गरेर युवालाई स्वदेशमै राम्रा अवसरहरुको सिर्जना गर्ने र यतै आकर्षित गर्ने काम गर्नुपर्छ । यस विषयलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । बेरोजगार भत्ता दिएर यो समस्या समाधान हुन सक्दैन् । नेपालमै रोजगार सिर्जना गर्ने उधोग, कलकारखाना र ब्यवसायहरुको वृद्धि गरेर रोजगार सिर्जना गर्नेतर्फ जानुपर्छ ।
सांसद भएपछि ब्यक्तिगत रुपमा कति खुशी हुनुहुन्छ ?
म एकदमै खुशी छु किनभने म भन्दा कतिपय सिनियरले समेत यो अवसर पाउनुभएको छैन् । तर, तर, मैले यो अवसर पाएं । यो लामो राजनीति यात्राको उपलब्धिका रुपमा पनि मैले लिएकी छु । समावेशिताका कारण पनि मलाई यो अवसर प्राप्त भएको हो । अखिलको गौरवका कारण पनि मैले यो अवसर पाएकाले म एकदमै खुशी छु । काम गरेर जनताको मत जित्न पनि उतिकै गाह्रो भएकाले यसलाई मैले चुनौती पनि ठानेकी छु । सबैतिर बेथिती, अराकता र भ्रष्टाचार ब्याप्त छ, सबैतिर दलालहरुको चगुलमा डुबेको छ, त्यसकारण काम गर्न चुनौतीपूर्ण पनि छ । तर, त्यसको न्यूनीकरण गर्दै हामी समृद्धिको दिशामा अगाडि बढ्नुपर्छ । त्यसका लागि म उत्साहित पनि छु ।