हेलसिन्की, ४ चैत (रासस-सिन्ह्वा) – संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।
सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन् ।
उत्तर कोरियाली विदेश मन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्नुहुने यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ । साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्नुहुने समाचारहरुमा जनाइएको छ ।
उहाँहरुबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ ।
यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेश मन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको चाँजो मिलाएको छ ।
फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ ।
फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गर्नुभयो । साथै उहाँले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि उक्त समाचार समितिलाई जानकारी दिनुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका जानुभएको थियो ।
उहाँको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।
राष्ट्रपति ट्रम्पले सो वार्ता प्रस्ताव स्वीकारगर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताउनुभएको थियो ।
उहाँले भन्नुभएको थियो– ‘हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।’ उहाँले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको पनि बताउनुभएको थियो ।
यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो । तर, त्यसको मिति भने निश्चित भएको छैन ।
त्यसैले यो हेलसिन्की वार्ता त्यस अगाडिको तयारीको लागि तय भएको अनुमान गरिएको छ । उक्त वार्ताको तयारीका लागि यी अधिकारीहरु अगावै भेट्न खोजेका अनुमान गरिएको छ ।
अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सफलताका लागि शुभकामनासम्म दिनुभएको छ । यी दुई देशबीच हुने भनिएको वार्ताको सफलताको कामना उहाँले यसैहप्ता गर्नुभएको छ ।
उता दक्षिण कोरियाली ती विशेषदूतले यसैहप्ता चीनका राष्ट्रपति सि चिनफिङलाई पनि भेट्नुभएको हो ।
उहाँले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथैवार्ताका बारेमा जानकारी गराउनुभएको छ ।
गएको फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुश गरिएको छ ।
अब यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यस तयारीको जानकारी दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले दिनुभएको छ ।