बेलायतको स्थानीय निर्वाचन बिहीबार, नेपालीहरु पनि 
प्रतिष्पर्धामा

लक्ष्य गुरुङ बेलायती प्रधानमन्त्री टेरेजा मेका साथ

लन्डन । इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७० सिटका लागि बिहीबार (३ मे) स्थानीय निर्वाचन हुंदैछ । लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङहाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव हुन लागेको हो । हयाक्नी, लुइसम, न्यूहाम, टावर हयामलेट्स, वाटफोर्ड र सेफिल्ड सिटी गरि ६ क्षेत्रमा मेयरको चुनाव पनि हुने तयारी छ । बिहान ७ देखि राती १० बजेसम्म जारी रहने मतदानका लागि २ करोड २० लाख मतदाता योग्य छन् ।

यहां स्थानीय निकायको निर्वाचन प्रत्येक चार वर्षमा हुन्छ ।

स्थानीय मतदाताले सरकारको काम कारवाही हेरेर मतदान गर्ने परिपाटी बेलायतमा छ । ब्रेक्जिट, आप्रवासी, अर्थतन्त्र, सामाजिक न्याय जस्ता प्रमुख मुद्दाहरु जनचासोका रुपमा छ । वर्तमान सरकारको अध्यागमन नीतिका कारण धेरै आप्रवासी रहेको लन्डनमा वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टी पराजित हुने पूर्व आंकलन गरिएको छ ।

गत फेब्रुअरीमा गरिएको युगोभ सर्वेक्षणमा संयुक्त अधिराज्यको राजधानी लन्डनका ७८ प्रतिशत ब्ल्याक एण्ड इथ्नीक माइनोरिटी मतदाताले 
विपक्षी लेबरलाई समर्थन गर्ने उल्लेख थियो । १२ प्रतिशतले मात्र सत्तारुढ कन्जरभेटिभका उम्मेदवारलाई मतदान गर्ने बताएका थिए ।

क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने योजनाको वीन्डरस काण्ड, ब्रेक्जिट अनि बढ्दो हाउजिङ मुल्य आदि कारणले यो पटक कन्जरभेटिलाई धक्का लाग्ने विश्लेषण छ ।

भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ

यसपटक नेपाली मुलका बेलायती करिब आधा दर्जन पनि प्रतिष्पर्धा गर्दैछन् ।
लन्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङ मतदाताबाट निकै सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएकाले जित्ने दावी गर्छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले समेत चुनावी अभियानमा सामेल भएर आफूलाई साथ दिएको उनले बताए ।

यसपटक चुनावमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती व्यहोर्नु पर्ने आंकलन भइरहंदा आफ्नो पार्टीका उम्मेदवारहरुको मनोवल बढाउन केही साताअघि प्रधानमन्त्री मे आफैं चुनावी अभियानमा सहभागी भएको गुरुङ बताउंछन् ।

ब्रिगेड अफ गोर्खाजमा १९ वर्ष काम गरेका एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ पनि स्थानीय निर्वाचनमा पुनः काउन्सिलर पदमा लडेका छन् । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङले लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका हुन् ।

बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए । गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष उनी स्थानीय काउन्सिलमा आफ्नो योगदानले फेरि पनि चुनाव जित्ने विश्वासमा छन् ।

उता, लेबर पार्टीको प्रतिनिधित्व गर्दै लिला सेलिङ माबोले हार्ट डिस्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एन्ड हवली वडामा उम्मेदवारी दिएकी छन् । पार्टीको अवधारणा अनुसार, स्थानीय सेवा विस्तार आफ्नो एजेण्डा रहेको उनले बताइन् । उनको क्षेत्रमा कन्जरभेटिभको पकड छ ।

विगत २० वर्ष देखि बेलायत बस्दै आएकी माबो ५ वर्षयता लेबर सदस्य छन् । त्यहां ४५ कुल उम्मेदवारमध्ये उनी एकमात्र नेपाली हुन् ।

लन्डनवासी सुरेन्द्र ढुंगानाले पनि इलिङ काउन्सिलको होबेइन वडामा 
कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् । पेशाले चार्टर्ड अकाउन्टेन्ट ढुंगाना सन् २००० देखि उक्त वडामा बस्छन् । उनी आफ्नो क्षेत्रको सडक, पेटी, पार्क सुधार अनि वातावरण स्वच्छ राख्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरि, कमलबहादुर गुरुङले लन्डन बरो अफ बार्नेटको सेड वार्डमा लेबर पार्टीबाट उम्मेदवारी दिएका छन् भने आनन्द राई फेल्थाम नर्थ क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर उठेका छन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री