वासिङ्टन, ९ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ ।
उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताउनुभएको हो ।
राष्ट्रपति ट्रम्पले तर यसको मतलब बैठक नै नबस्ने भने होइन भन्नुभयो । उहाँले उत्तर कोरियाले आवश्यक शर्तहरु पूरा गर्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।
तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा जानुभएको छ । सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिनुएको हो ।
उहाँले भन्नुभयो– ‘मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ ।’
आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा हुनुहुन्छ । उहाँ मङ्गलबार नै अमेरिका पुग्नुभएको हो ।
उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुग्नुभएको हो ।
दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गर्नुभयो । तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको बताउनुभएको हो ।
तर राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताउनुभएन । उहाँले आगामी केही समयमा त्यसबारेमा मिति तय हुने बताउनुभयो ।