लन्डन । बेलायती राजकुमार हयारी र अमेरिकी नायिका मेगान मर्केलबीच गत सप्ताहन्त (१९ मे) धुमधामसंग विवाह भयो । उक्त शाही विवाहलाई विश्वभरका झण्डै १८ मिलियन दर्शकले टिभीमार्फत अवलोकन गरेको अनुमान छ ।
विवाह समारोहस्थल विन्सोर क्यासलमै सहभागी हुनेको संख्या नागरिक समाजबाट दुई हजार ६४० र च्यापलभित्रै जाने विशेष निम्तालु ६ सय थिए । सडक किनारमा लामवद्ध हुनेको संख्या त लाख बढि थियो ।
विन्सोर क्यासलमा गएर शाही विवाह अवलोकन गर्न पाउने थोरै भाग्यमानी मध्ये भूपू गोर्खा अनिल गुरुङ र उनकी जीवनसंगिनी बबिना पनि थिए । बेलायती प्रधानमन्त्री टेरेजा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा जस्ता कयौं विश्व नेताहरुलाई नबोलाइएको उक्त विशेष समारोहमा दरबारले गुरुङ दम्पत्तिलाई भने सम्झिएको थियो ।
‘राजखान्दानको विवाहमा प्रत्यक्ष साक्षी बन्न पाउंदा हामीलाई ज्यादै गर्व छ’, अनिलले भने, ‘रेड कार्पेटमा हयारी मेगानलाई नजिकबाट अभिवादन गर्ने मौका पायौं । यो हाम्रा लागि ठूलो भाग्यको कुरा हो । घमाइलो मौसमले पनि समारोहको वातावरण झन् रमाइलो र अविष्मरणीय बनाएको थियो ।’
विवाह हुने दिन १९ मे शनिबार बिहानै ६.३० बजे मेडस्टोनबाट विन्सोर क्यासल साइत गरेका थिए गुरुङ दम्पत्ति । ड्रेस कोड थिएन, कम्फोर्टेबल पोशाक लगाए हुने भनिएको थियो । बरु ९.३० बजेसम्म पुगिसक्नुपर्ने निर्देशन थियो । ट्राफिक जाम नभएकाले बेलैमा पुगे उनीहरु । ‘कार पार्कबाट विवाहस्थल पुग्न झण्डै एक माइल हिंड्नुपर्ने रहेछ’, अनिल स्मरण गर्छन्, ‘बाटो देखाउने गाइडहरु बाटोभरि थिए । पुलिस अफिसरको पनि बाक्लो उपस्थिति थियो । निम्तालुका ब्याग, निमन्त्रणा पत्र र आइडी हेरेर एयरपोर्ट स्तरकै जांच भएपछि प्रवेश दिइएको थियो ।’
विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापल बाहिर पब्लिक मेम्बरहरु बस्न छुट्याइएको क्षेत्रमा अनिल दम्पत्ति बसे । उनीहरुले पानीको बोटल, चलकेट, बिस्कुट, कार्यक्रमबारे बनाइएको लिफ्लेट आदि राखिएको ‘गिफ्ट ब्याग’ पाएका थिए । ‘मानिसहरु ज्यादै उत्साहित देखिन्थे, वनभोजमा सहभागी भए जस्तो । हयारी दम्पत्ति च्यापलबाट बिहे सकेर बाहिरिएपछि च्यापल भित्र जान पाइन्थ्यो तर लामो लाइन भएर मलाई उभिन गारो भएपछि झण्डै २ बजेतिर निस्कियौं’, अनिलले भने ।
शाही विवाहमा निम्तो पाउनुका पछाडि अनिलको पृष्ठभूमिले पनि काम गरेको हो । ब्रिटिश आर्मीको टु आर जिआरमा ६ वर्ष काम गरेपछि अनिलले सन् २०१३ मा मेडिकल ग्राउण्डसमा अवकास लिएका थिए ।
गस्तीका क्रममा अफगानिस्तानको मुसाकला भन्ने ठाउंमा तालिवानको बम विस्फोटमा परे अनिल । गहुंगो सामान बोकेर हिंडेका बेला बेलुका उनी एकजना मात्र विष्फोटमा परेका थिए । घट्नापछि उनी बांचे तर दाहिने खुट्टा गुमाएर छिट्टै आर्मी सेवाबाट विश्राम लिनु परयो, शारिरीक अपांगता जीवनभर । गोर्खाहरुसंग हयारीको निकट सम्वन्ध र अनिलको पनि च्यारिटीमा सक्रियताले विवाह हेर्ने अवसर अनिल दम्पत्तिलाई जुटेको थियो ।
उनीहरुले विवाहको निम्तो पत्र एक महिना अगाडि अप्रिल पहिलो सातातिर पाएका थिए । पछि आउने ‘कन्फर्म’ गरेपछि अप्रिल अन्तिममा पास आएको अनिल बताउंछन् ।
राजकुमार हयारीले स्थापना गरेको ब्रिटिश आर्मीका अपांगताहरुको अन्तर्राष्ट्रिय खेल इन्भिक्टस गेममा अनिलले सिटिङ भलिबलमा गोल्ड मेडल ल्याउन सफल भए । सन् २०१४ मा लन्डनस्थित क्वीन एलिजावेथ ओलम्पिक पार्कमा पहिलोपटक उक्त प्रतियोगिता भएको थियो ।
त्यसैगरि, सन् २०१६ मा अमेरिकाको फलोरिडामा दोश्रो इन्भिक्टस गेम हुंदा अनिलले सिल्भर मेडलमात्र जितेनन्, हयारीसंग प्रशिक्षणका क्रममा नजिकबाट गफिने मौका पनि पाए । ‘त्यतिबेला हयारीले मेरो अवस्थाबारे सबै सोध्नुभयो । मैले घट्ना वेलिविस्तार लगाएं । यसबाहेक च्यारिटीमा मेरो प्रत्यक्ष संलग्नताले पनि विवाहमा अतिथी छानिएको हुनुपर्छ’, अनिल भन्छन् ।
अनिल हाल रोयल ब्रिटिश लिजन इन्डष्ट्री (आरबीएलआइ) मा काम गर्छन् । उनले गत वर्ष नोभेम्बर २०१७ मा एभरेष्ट बेस क्याम्पसम्म ट्रेकिङ च्यारिटी गरेर ११ हजार २२५ पाउण्ड उठाउन सफल भएका थिए ।
च्यारिटी गर्न हुरुक्कै हुन्छन् उनी । आगामी जुन ८ देखि १० सम्म च्यारिटी साइक्लिङ आरबीएलआइ सेन्टेनरी राइडका लागि बेल्जियमको यात्रा तय गर्दैछन् अनिल । दिनमा ७५ माइल साइक्लिङ गर्नुपर्ने भएकाले चुनौति भएपनि आत्मविश्वास रहेको उनले सुनाए ।
उनी आरबीएलआइको सय उत्कृष्ट कामदारका रुपमा छानिइसकेका छन् । कान्तिपुर साप्ताहिक