गोर्खा कपको मेला र जथाभावी फालिएका फोहोरमैला

बेलायतमा मे महिनाको अन्तमा पर्ने ब्यांक होलिडे अर्थात सार्वजनिक बिदाको अघिल्लो दिनको आइतबारलाई एक विशेष मेला वा भेलाको रुपमा बडो भब्यताका साथ मनाइने गरिन्छ । तमुधिं यूकेको आयोजनामा बर्सेनी यही मितिमा मनाइने त्यो दिन हो गोर्खा कप ।
गोर्खा कप बेलायतमा मात्रै नभएर सम्भवत यूरोप भरिमै नेपालीहरुको सबैभन्दा ठूलो सोसल इभेन्ट हो भन्दा सायद फरक नपर्ला ।

सन् २००० मा तमुधिं युकेको विधिवत स्थापना भएपश्चात तमुधिंका संस्थापक अध्यक्ष मीन कोन्मे सिक्लिसेको कार्यकालमा २००३ बाट शुरु गरिएको गोर्खा कप नियमित रुपमा तमुधिंले 
वर्षेनी आयोजना गर्दै आइरहेको छ । यस पटक पनि गत आइतबार, मे २७ का दिन क्वीन्स एभेन्यू, अल्डरशटमा १६ औं गोर्खा कप बडो भब्य र सभ्य तरिकाले सुसम्पन्न भयो ।

गज्जबको कुरो, अक्सर फरक नपर्ने बेलायती मौसमविद्हरुको मौसमी पूर्वानुमान समेत यो पाली गलत सावित हुन गयो । अर्थात सो दिन मेघ गर्जनसहित वर्षा हुने भनिंदा आयोजक तमुधिंका सबै सक्रिय सदस्यहरुलाई चिन्तित तुल्याएको अवस्था थियो । त्यसको ठिक विपरित बिहानी पख सर.. सर.. हावा बहेको एकदम शीतल मौसम अनि अपरान्ह पछि दिन घमाइलो हुंदै जानाले सुनमा सुगन्ध भने जस्तै बडो रमाइलो र घमाइलो वातावरणमा बेलायत भरिबाट जम्मा भएका हजारौं नेपालीले एक आपसमा भेटघाट, भलाकुसारी गर्ने मौका पाए भने विविध थरीका खानपानको स्वाद चाख्ने, नाना थरीका पसलहरुमा स्वदेशी तथा विदेशी सरसामानहरु किनमेल गर्ने अवसर पाउनुका साथै एनआरएनए युकेले आयोजना गरेको स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य परिक्षण गर्ने मौका समेत पाए । सोका अलावा नेपालीहरुले गरेका अन्य थुप्रै विविध व्यापार ब्यवसायको बारेमा पनि जान्ने बुझ्ने मौका पाए । विविध मनोरञ्जनमा प्यारासुट डिस्प्ले, ब्रिगेड ब्यान्ड, सयपत्री ग्रुपको आकर्षक नृत्य, नौमती बाजाका साथै यो पालीको विशेष आकर्षण एफए कप ट्रफी रहेको थियो । जसको बन्दोबस्त सहारा युकेका अध्यक्ष मीन साईंलाले गर्नुभएको थियो ।

यस पटकको गोर्खा कपमा मुख्य विधामा कुल ३२ टिम र भेट्रान तर्फ १० टिमले सहभागिता जनाएका थिए भने बेलायतबाट मात्रै नभई हङकङ, बेल्जियम र हल्याण्डको टिमले पनि भाग लिएका थिए । योङ टोलीमा मंगोलियन भान्जा र ब्रिगेड ब्वोइजकाबीच कडा प्रतिस्पर्धा हुंदाहुंदै खेल बराबरीमा टुंगिए पछि थप समय प्रदान गरिएकोमा ब्रिगेड ब्वोइजलाई शून्यका विरुद्ध एक गोलले पराजित गरि मंगोलियन भान्जाजले आइडिया फर नेपालले प्रायोजित गरेको २५०० पाउन्डको पहिलो पुरस्कार र ट्रफी हात पार्न सफल भयो भने ब्रिगेड बोइजले रवि लामिछानेद्वारा प्रायोजित १५०० पाउन्डको दोश्रो पुरस्कार प्राप्त गरे ।

त्यस्तै भेट्रानतर्फ इलाम एफसी प्रथम र केन्ट एफसी दोश्रो भएर क्रमशः अनुग्रह ज्वेलर्सद्वारा प्रायोजित १२०० र दिदी लण्डनद्वारा प्रायोजित ८०० पाउन्डको पुरस्कार हात पार्न सफल भए ।

समग्रमा लगभग १४ हजारको हाराहारीमा दर्शकहरुको सहभागिता रहेको यसपटकको गोर्खा कप पनि अति सफलताका साथ सुसम्पन्न गर्न सफल भएकोमा तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ, मुख्य खेलकुद संयोजक क्याप्टेन पिताम्बर 
गुरुङ, गोर्खा कपलाई सफल पार्न अहोरात्र खटिएका तमुधिं का सम्पूर्ण भोलेन्टियर सकृय सदस्यहरु, आमा समूह र अध्यक्ष प्रेमा गुरुङलाई हार्दिक बधाई एवं नजिकै आउन लागेको नेपाली मेलाको लागि हार्दिक शुभकामना ।

यहांसम्मको समाचार त अहिलेसम्म यहांहरुले थुप्रै पटक फेसबुक लगायत विविध अनलाइन न्यूज पेपरहरुमा पनि पढिसक्नु भएको छ भने सहभागी सबैले प्रत्यक्ष देखेर पनि थाहा पाइसक्नुभएको छ ।

यी त भए गोर्खा कपको रमाइलो पक्ष । यी कुरा बाहेक गोर्खा कपको चौरमा पटक पटक चक्कर काट्दा एउटा कुरोले मेरो ध्यानाकर्षण बारम्बार गरिरहयो । हुन त यो कुनै नौलो कुरो हैन । सधैं यस्तै भैरहेको अवस्था हो तर यस पटक यसै सम्बन्धी २÷४ हरफ कोर्नै मन लाग्यो । अनि यसपटक सो बारे ध्यानाकर्षण गरे कतै अर्को पटक केही सुधार आउला कि भन्ने आशाले पनि यी हरफ कोर्ने जमर्को गर्दैछु, अन्यथा नलिनुहोला ।

तस्वीरमा यदि यहांहरुले नजर लाउनु भो भने चौरभरि जथाभावी फोहोरमैला फालिएको देख्नुभो होला । तर यस्तो किन ? हामी कहां छौं ? अनि किन यस्तो गरिरहेछौं भनिरहन नपर्ला । हामी संसारको सबैभन्दा सभ्य र विकसित देशमा छौं तर ब्यवहारमा हामी किन यति असभ्य ? विदेश बसेको दशकौं बितिसक्यो । या यसो भनौं आधाभन्दा बढी उमेर हामीले विदेशमै बिताइसक्यौं । अब त अधिकांशले विदेशी बेलायती पासपोर्ट पनि लिएर बेलायती नै भैसक्यौं तर हाम्रो व्यवहार अझै यत्ति अब्यवहारिक र असभ्य किन ?
खाएर जथाभावी चौरभरी फोहोर फाल्नु अघि किन हामी अलिकती नहच्केको ? किन केही नसोचेको ? हैट यो त अत्ति नै भो भन्ने लागिरहयो ।

हरेक वर्ष गोर्खा कप सकेको भोलिपल्ट त्यो फोहोर सोहोर्दै हिंड्न पर्छ आयोजक तमुधिंका स्वयंसेवकहरुलाई । यदि त्यसरी जथाभावी फोहोर फाल्नुको सट्टा ब्यवस्थित तरिकाले फाल्नु पर्ने ठाउंमा फालिदिए बेलायतको अमूल्य समय भोलिपल्ट त्यसरी नष्ट हुने त थिएन नि हैन र ? मन मनमा सोचें, ठाउं ठाउंमा यदि ठूला ठूला फोहोर फाल्ने कन्टेनरहरु राखिदिए सायद यस्तो मनपरी फोहोर फाल्थेनन् कि ? कारण सानोतिनो कुम्भको मेला जस्तो हजारौंको संख्यामा भेला भएका जनताहरुको जमातमा ठाउं ठाउंमा राखिएको त्यो ब्ल्याक बिन लाइनर (कालो प्लास्टिकको थैलो) एकै छिनमा भरिएर लाखापाखा भइरहेको थियो । अनि मान्छेहरुले जता खाए त्यतै फाल्दै ढुक्कसंग हिंडिरहेका थिए । मानौं उनीहरुले पैसा तिरेर खाएका हुन् अनि किनेर खाएकाले जथाभावी फाल्ने उनीहरुको नैसर्गिक अधिकार हो र त्यो फोहोर टिपेर फाल्ने आयोजकको जिम्मेवारी हो । मलाई त्यो दृश्य देख्दा किन किन यस्तै अनुभूति भयो । तर, त्यसरी फाल्नेले सोच्न पर्ने हो कि उनीहरुले पैसा तिरेर हैन पाउन्ड तिरेर खाएका हुन् अनि पाउन्ड तिर्नेले फोहोर त्यसरी जता पायो त्यतै फाल्दैन । पोको पारेर साथै लिएर हिंड्छन्, अनि फाल्न पर्ने ठाउंमा मात्रै 
फाल्छन् ।

तर, हरे नेपालीपन अनि नेपाली बुद्धि । जता गए पनि नेपालीपन नछोड्नुको यो एउटा ज्वलन्त उदाहरण हो भन्ने लागिरह्यो । भाषण ठोक्न भने सिपालु हामी तर सिक्न पर्ने आधारभूत साधारण कुरो पनि किन केही सिक्न सकिरहेका छैनौं ? कुनै सानो २÷४ जनाको भेला होस् या ठूलो मेला । बेलायत आएको वर्षौपछि पनि हामी उही भाषण, आसन ग्रहण, सम्बोधन र माल्यार्पणमै अल्झिरहेका छौं । हरेक कार्यक्रममा नेपाली टाइमलाई मेन्टेन गरिरहेका छौं अनि विश्व प्रख्यात अंग्रेजी समयलाई माथ दिइरहेका छौं । यहांसम्म कि अब त गोराहरुले समेत नेपाली टाइम त हो नि हैन भन्न थालिसके ।

सोचें यो बडो लज्जास्पद कुरो हो । तर, मेलामा सहभागी ती हजारौं जनतामध्ये कतिले यो कुरा अनुभूत गरे होलान् त ? के तपाईं अनुमान लगाउन सक्नुहुन्छ ? अथवा तपाई स्वयमले के यो सब सोच्नुभो त ? त्यो कुरा नै मुख्य हो । हरेक इन्डिभिजूअलले यदि यसरी सोचेर आफ्नो फोहोर आफैंले पोको पारी निर्धारिति स्थानमा फालिदिए यो समस्याको समाधान स्वत कम हुन्छ जस्तो मलाई लाग्छ । तर अफसोंच, यस बारे केही कुरा गरौं, बुझौं भनी आयोजक मध्येका एक मुख्य जिम्मेवार पदाधिकारीलाई सोही सांझ फोन गर्दा फोहोर फाल्नकै लागि ३० वटा फोहोर फाल्ने प्वाइन्ट, पांच वटा ४ हजार लिटरको स्कीप (ठूलो ढवांग) ठाउं ठाउंमा राखिएको जानकारी पाइयो । तर, सायद त्यो स्कीप जनताको आंखाले नभ्याउने स्थानमा थिए कि त जस्तो पनि लाग्यो । कारण मैले पनि देखेको थिइन । कता थियो त भनेर सोध्दा रेस्टुरेन्टहरुको पछाडि भनियो । पक्कै पनि ती स्कीपलाई रेस्टुरेन्टले नै छेके । त्यसैले आउने दिनमा त्यसलाई सबैको आंखा पर्ने स्थानमा राख्न जरुरी देख्छु ।

जे होस् आगामी वर्ष तमुधींले फोहोर ब्यवस्थापनका लागि विशेष ब्यवस्था मिलाओस् भन्ने अनुरोध गर्न चाहन्छु । हरेक वर्ष पोर्टेवल लू (शौचालय) को लागि जसरी ब्यवस्था मिलाइन्छ र सोको सहयोगार्थ भोलेण्टियर डोनेसन प्रदान गरिन्छ, त्यसको केही अंश फोहोर ब्यस्थापनतिर पनि उपयोग गरियोस् र त्यसतर्फ पनि आयोजकको ध्यानाकर्षण होस् । साथै जनता जनार्दनले पनि कृपया जथाभावी फोहोर नफाली निर्धारित स्थानमा मात्रै फोहोर विसर्जन गर्ने बानी बसाली सभ्यताको परिचय दिउं । बाकी हजुरहरुको जो विचार प्रभु ।

अस्तु

प्रतिक्रिया

सम्बन्धित सामाग्री