लन्डन । ब्रिटेनको पूर्व उपनिवेश रहेको युरोपेली मुलुक माल्टामा नेपाली कामदारको माग बढ्दै गएको छ । वर्क परमिट लिएर काम गर्न यो वर्षमात्र झण्डै ६ सय नेपाली त्यहां पुगेका छन् ।
विशेषगरि हस्पिटालिटी क्षेत्रमा नेपालीको माग बढि छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ काममा नेपाली संलग्न छन् र मासिक न्यूनतम कमाइ करिब ७ सय ३५ युरो छ ।
युरोपको मुख्य पर्यटकीय गन्तव्य माल्टामा नेपालीको माग बढिरहेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । लन्डनस्थित नेपाली दूतावासले नै कामदार माग प्रमाणिकरण गर्छ । ‘हामीले गत माघमा मात्र ५ सय ५० जनाको प्रमाणिकरण गरयौं । माल्टा जानेमा महिला पुरुष बराबर छन्’, आरणले भने, ‘माल्टा अध्ययनका लागि होइन, काम गर्न भने उचित गन्तव्य बनेको छ ।’ नेपालबाट एजेन्टहरुले माल्टामा विद्यार्थीलाई राम्रो अवसर छ भनेर झुक्याएपनि यथार्थमा त्यस्तो नभएको दूतावासको भनाइ छ ।
नेपाली जाने क्रम बढेपछि नेपाल र माल्टाबीच श्रम सम्झौताका लागि गृहकार्य भइरहेको छ । बेलायत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा. दुर्गा बहादुर सुवेदीले गत महिना माल्टाकी राष्ट्रपति मारिइ लुइज कोलिरो प्रिका समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्ने क्रममा यसबारे कुरा उठाउंदा सकारात्मक जवाफ आएको आरणले बताए । नेपाल र माल्टाबीच दौत्य सम्वन्ध भने सन् १९८३ मा कायम भएको हो । काठमाडौंमा माल्टाको अनरेरी कन्सुलेट छ भने लन्डनस्थित नेपाली दूतावासले माल्टासम्बन्धी मामिला पनि हेर्छ ।
राजदूतले माल्टामा पर्यटनमन्त्री, श्रम मन्त्री लगायत रोजगारदाता कम्पनीका प्रतिनिधिसंग भेट गरि नेपाली कामदारको अधिकार, सेवा सुविधा आदिबारे छलफल गरेका थिए ।
माल्टामा नेपालीको कुल संख्या ८ सय ५० हाराहारी र अध्ययनका लागि ६० जति विद्यार्थी छन् । यसअघि विद्यार्थीलाई काम गर्ने अनुमति नभएपनि दूतावासको पहलपछि २० घण्टा प्रति साता काम गर्ने व्यवस्था भएको आरणले जनाए ।
लन्डनस्थित दूतावासले यसै वर्ष युरोपेली संस्कृतिको राजधानी भालेटा (माल्टाको राजधानी) मा नेपालको पर्यटन प्रवर्धनसम्बन्धि कार्यक्रम समेत गर्ने भएको छ । भालेटाले सन् २०१८ लाई ‘युरोपियन क्यापिटल अफ कल्चर’ का रुपमा मनाइरहेको छ ।
केवल चार लाख जनसंख्या भएको माल्टा सन् २००४ मा युरोपेली संघको सदस्य बनेको हो । युरोजोन क्षेत्रको सबैभन्दा सानो अर्थतन्त्र रहेको माल्टाको अर्थतन्त्र व्यापार, पर्यटन र उद्योगधन्दामा आधारित छ ।