पाठकहरु आरामै हुनुहुन्छ ? दशै तथा तिहारको शुभकामना टक्राउंदै लेखलाई अगाडि बढाउने अनुमति चाहन्छु । आजको लेख हाम्रो दूतावास अनि नेपाली समाजको सेरोफेरो र मैले दूताबास पट्टिबाट देखेका समस्याप्रति समर्पित हुने जानकारी गराउंछु । पाठकहरु नकारात्मक टिप्पणी चांडै बिक्छ र त्यो सजिलो पनि छ । मेरो आसय सकारात्मक प्रयासहरुलाई महत्व दिएर दूरगामी समाजको निर्माण अनि बेलायतमा रहेको दूतावास, नेपाली समाज र नेपालीहरुको दुरी नजिक बनाउने लेखको मूल उद्देश्य हो । लेख्दै जांदा सकारात्मक आलोचनाहरुलाई आत्मसात गर्ने कोसिस गर्नेछु । फेरि प्रस्ट पार्दै भन्छु मलाई कसैले लेख्दिनुस् अथवा बताइदिनुस् भनेर यो लेख तयार पारिएको पनि होइन । निष्पक्ष, लिवरल विचारधारा मेरो आदर्श रहनेछ र म सधैं त्यसैमा अडिग छु । पाठकको माया त्यसैमा रहेको मलाई जानकारी छ । विगतमा मैले दूतावास नेपाली समाज मैत्री भएन भनेर आरोप लगाउंदै आएको छु र त्यही लेखेवापत मैले दूतावासमा गएर स्पष्टिकरण पनि दिनु परेका घटनाहरु उल्लेख गर्न चाहन्छु ।
आउनुस् केही राम्रा कामहरुका चर्चा गरौं । पहिलो, कुटनैतिक सफलता – कुटनीतिका आफ्नै प्रोटोकल रहन्छन् । हामीले प्रिन्स हयारी, प्रिन्स माइकल, कर्णेल कुमार लामा प्रकरण, माल्टासंगको आत्मियता, आइरिस राष्ट्रपतिले नेपालको संविधानका बारेमा गरेको सकारात्मक टिप्पणीले कुटनीतिक वृत्तमा ठूलै प्रभाव रहन गयो । देखिंदा माथि उल्लेखित कुराहरु जति सजिला देखिन्छन् त्यसको दस गुना चुनौती त्यस्ता कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नमा लाग्नेछ । त्यसमा लागेको समय प्रत्यक्ष नेपाली समाजमा नदेखिन सक्छ तर नेपालको धमिलिएको छविलाई सुकिलो गराउने काम भने पक्कै गरेको हुन्छ । त्यो हामीले बुझ्नुपर्ने हुन्छ । कति कुटनीतिहरु क्याटलिस्ट नेचरका हुन्छन् । जुन देखिंदैनन् तर भित्र पूर्ण तवरबाट प्रभाव पारिरहेका हुन्छन् । दोस्रो, पब्लिक फ्रेण्डली एम्बेसी । आजभन्दा १० वर्ष पहिला दूताबासबाट नेपालीले लिने सुविधा र अहिले नेपालीले पाउने सुविधाहरुमा ब्यापक फरक छ । सुविधा अहले सजिलो र छरितो छ । साधारण उदाहरणका लागि आपत परेको बेलामा अफिस समय नभनी जुनसुकै बेला अफिस खुलाएर कर्मचारीहरुले अभर परेका नेपालीहरुलाई छिटो र छरितो तरिकाले दूताबासले ट्राभल डकुमेन्ट बनाएको छ । कैयौंपटक एयरपोर्टले नेपालीहरुलाई शंका लागेको भरमा डिटेन्सनमा राखेर दुःख दिएको उदाहारण छन् । त्यस्ता केसमा बिना सन्देह दूताबासले आफ्नो भूमिका निर्बाह गरेको पाएं । अनि नेपालबाट चाहे कलाकार, खेलाडी, साहित्यमा लागेका स्रस्टा ब्यवसायमा लागेका मान्छेहरुलाई सम्मान गर्ने गरेको छ जसबाट विभिन्न पेसा र समुदायमा सकारात्मक प्रभाव पर्न गएको छ ।
तेस्रो, दूताबासको हस्पिटालिटी-दशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम थियो । कार्यक्रम सकिंदा करिब रातको १० बजेको थियो । आएका पाहुनालाई खुवाएर मात्रै दूताबास परिवारले बल्ल खाना खाने चलन रहेछ । साधारण जनतासरह रहेर त्यो पारिवारिक वातावरणमा राजदूत अनि दूताबासको कर्मचारीहरु देख्दा म निक्कै खुसी भएं । बरु आएका नेपाली समाजका अगुवाहरु चुकेको देखियो । खाएका प्लेटहरु कुर्चीमुनी राख्ने, टिस्यु पेपर मुख पुछेर फाल्ने, सिग्रेट पिउने, मिनी बारमा उभिएर हल्ला गर्ने, दूताबासका कर्मचारीले शान्त रहन गरिएका आग्रहहरुलाई बेवास्ता गर्ने, भनेको समयमा उपस्थिति नजनाउने अनि कार्यक्रम समयमा भएन भनेर ढोल पिट्ने । कृपया यस्ता हाम्रा आफ्नै आचरणहरुलाई पनि म स्मरण गराउन चाहन्छु । दूताबासमा सरकारी मन्त्री अथवा भूतपूर्व मन्त्रीहरुको हप्तैपिच्छे आगमन हुने गरेको छ । सरकारले सीमित कर्मचारीको व्यवस्था गर्दिएको छ । दूताबासको आफ्नै प्रोटोकल रहिआएको छ । लिन जाने, पुरयाउने र सम्पूर्ण लजिस्टीक दूताबासले हेरेको हुन्छ । मन्त्रीका कार्यक्रम रहन्छन् त्यो नचाहेर होस् या चाहेर दूताबासले प्रोटोकलमा रहेर निभाउनु पर्ने हुन्छ । कार्यक्रमको औचित्य आफ्नै ठाउंमा रहलान् तर प्रत्येक कार्यक्रमहरुमा ५० देखि २०० सम्म सहभागी हुने गर्छन् । दूताबास अवस्थित केन्जिंगटन गार्डेन लन्डनको मुटु हो । सुरक्षा, आतिथ्य सत्कार, कार्यक्रम व्यवस्थापन सजिलो छैन तर त्यसका बाबजुद पनि दूताबासले आफ्नो ब्यवस्थापन चुस्त राखेको अनुभव मैले गरें ।
चौथो, संघ संस्था र त्यस्को अभिभावकत्व -बेलायतमा करिब २०० भन्दा बढी संघ संस्था होलान् । समाजको अभिभावकत्व र दैनिक कार्यक्रमले दूताबासलाई झनै ब्यस्त बनाएको पाएं । दूताबास कार्यक्रममा जानु पर्नेमा नगएमा सामाजिक दबाब सिर्जना हुने, विवादित एनआरएनमा निष्पक्ष भूमिका निभाउन पर्ने अनी फेरि कुटनीतिक सम्बन्ध बिस्तार पनि जारी राख्नु पर्ने । सीमित स्रोत साधनबाट जनताका काम छिटो छरितो ढंगले गर्नुपर्ने जनआकांक्षा झनै चुनौतीपूर्ण देखियो ।
यति हुंदाहुंदै पनि जसरी ब्यवस्थापन गरियो म त्यति सजिलो देख्दिन । संघ संस्थाले दूताबासको अवस्थाको पनि ख्याल गर्दिए निक्कै सजिलो पर्दथ्यो जस्तो भान भयो । नागरिक अगुवाहरुबाट त्यो अपेक्षा राखेको छु । दूताबाससित गुनासाहरु रहन सक्छन् र नजानेरै दूताबासका त्रुटी पनि रहन सक्छन् र त्यस्ता गुनासाहरुलाई पनि दूताबासले सकारात्मक रूपमा लिएर सुल्झाउनु पर्छ ।